सूचनाको शक्ति - The Power Of Information

        

आफ्नो निर्वाचन क्षेत्रमा कति सुरक्षित छन् पूर्वगृहमन्त्री ?


काठमाडौं । आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा मुलुकका ८ जना पुर्व गृहमन्त्रीहरु प्रत्यक्षतर्फ निर्वाचन लड्दैछन् । समग्र मुलुकको सुरक्षा अवस्था बुझेका र गृहप्रशासन हाँकिसकेका यी पुर्व गृहमन्त्रीहरु को कहाँबाट निर्वाचन लड्दैछन ? निर्वाचनको जित हारमा कति सुरक्षित छन् र उनिहरुका प्रतिश्पर्धी कस्ता छन् त ?

भीम रावल
एमालेका उपाध्यक्षसमेत रहेका पूर्वगृहमन्त्री हुन् भिम रावल । तत्कालिन माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा गृहमन्त्रालय सम्हालेका रावल प्रहरी संगठनमा राम्रै पकड राख्ने पुर्व गृहमन्त्रीमध्येमा पर्छन् । उनलाई गृहको अलवा रक्षा मन्त्रालय सम्हालेको अनुभव समेत छ । यो निर्वाचनमा अछाम क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सभा निर्वाचनका लागि प्रतिश्पर्धामा उत्रेका रावल बाम गठबन्धनका साझा उम्मेदवार हुन् । रावलको प्रतिश्पर्धीका रुपमा कांग्रेसबाट भरतकुमार स्वाँर उम्मेदवार बनेका छन् । ६८ हजार ५९३ मतदाता रहेको यो क्षेत्रमा गत स्थानीय तहको निर्वाचमा कांग्रेसले १८ हजार २९७, नेकपा एमालेले १८ हजार २१ र माओवादी केन्द्रले १२ हजार १७७ मत ल्याएको थियो । यसआधारमा यहाँ बाम गठबन्धनका रावलको पक्षमा ३० हजार १९८ मत हुन जान्छ । यो कांग्रेसको भन्दा ११ हजार ९०१ मत बढी हो ।

जनार्दन शर्मा
माओवादी केन्द्रका नेता जनार्दन शर्मा तत्कालिन गृहमन्त्री हुन् । शेरबहादुर देउवा नेतृत्वका सरकारमा सुरुमा गृहमन्त्री बनेका शर्मा हाल विनाविभागिय मन्त्री छन् । शर्मा बाम गठबन्धनबाट आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पश्चिम रुकुमबाट उम्मेदवार बनेका छन् । रुकुममा राम्रै प्रभाव राख्ने शर्मा यो निर्वाचनमा काङ्ग्रेसका नेता गोपालजीजङ्ग शाहसँग प्रतिस्पर्धा गर्दैछन् । गत स्थानीय तहको निर्वाचनमा एमाले र माओवादी केन्द्रको मत जोड्दा रुकुम पश्चिममा वाम दलको मत ३५ हजार ८३५ मत हुन्छ । यहाँ माओवादी केन्द्रले मात्रै २७ हजार ४३१ मत ल्याएको थियो । त्यस्तै स्थानीय चुनावमा नेपाली काङ्ग्रेसले १९ हजार ६७ मत ल्याएको थियो । जुन नेपाली काङ्ग्रेसको भन्दा १६ हजार ७६८ मत बढी हो । १ निर्वाचन क्षेत्र रहेको यो जिल्लामा ८४ हजार ३० मतदाता छन् । रुकुम पश्चिममा पहिलो चरणमा निर्वाचन हुदैछ ।

कृष्णप्रसाद सिटौला
कांग्रेस नेता कृष्ण प्रसाद सिटौला पूर्वगृहमन्त्री हुन् । गृह प्रशासन राम्रोसँग बुझेका सिटौलाले तत्कालिन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाको कार्यकालमा गृहमन्त्रालय सम्हाल्ने मौका पाएका थिए । उनि अहिले झापा निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचनमा प्रतिश्पर्धा गर्दैछन् । सिटौलासँग राप्रपाका महामन्त्री राजेन्द्र लिङदेनले चुनावी प्रतिश्पर्धा गर्दैछन् । लिङदेनलाई बाम गठबन्धनको समर्थन रहेको छ । स्थानीय तहको निर्वाचन परिणामलाई आधार मान्दा यो क्षेत्रमा कांग्रेसको मत २० हजार ५४४ हुन्छ भने विपक्षी एमाले र माओवादीको मत जोड्दा २९३६८ हुन्छ । यसरी हेर्दा सिटौलाले झण्डै नौ हजार मत आफ्नो पक्षमा पार्न ठुलै कसरत गर्नुपर्ने देखिन्छ । प्रदेश नम्बर १ मा पर्ने झापामा पहिलो चरणअन्र्तगत मंसिर १० गते निनर्वाचन हुदैछ ।

कमल थापा
राप्रपाका अध्यक्ष समेत रहेका कमल थापा पूर्वगृहमन्त्री र हालका ऊर्जा मन्त्री पनि हुन् । उनि आगामी प्रतिनिधि सभा निर्वाचनका लागि मकवानपुर क्षेत्र नं. १ बाट निर्वाचन लड्दैछन् । थापालाई कांग्रेसको समर्थन छ । त्यस्तै थापाका प्रतिश्पर्धीका रुपमा एमालेका पुराना नेता कृष्णप्रसाद दाहाल छन् । दाहाललाई बाम गठबन्धनको समर्थन छ । यो क्षेत्रमा गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरूले ल्याएको मतका आधारमा काङ्ग्रेसले २३ हजार ५४८, एमालेले २७ हजार १४३, माओवादीले १४ हजार ५०२ र राप्रपाले १० हजार ८३५ मत पाएको थियो । यस आधारमा हेर्दा यहाँ वाम गठबन्धनको पक्षमा ४१ हजार ६४५ र थापाको पक्षमा ३४ हजार ३८३ मत रहेको छ । यहाँ ७ हजार ३३३ मतले वाम गठबन्धन अगाडि रहेकाले कमल थापाका लागि जित निकाल्न हम्मे पर्ने देखिन्छ ।

विजयकुमार गच्छदार
फोरम लोकतान्त्रिक हुदै कांग्रेस प्रवेश गरेका विजयकुमार गच्छेदार पनि पूर्वगृहमन्त्री हुन् । झलनाथ खनाल नेतृत्वको सरकारमा गृहमन्त्री बनेका गच्छदार हाल सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रीसमेत छन् । आगामी निर्वाचनमा प्रतिनिधि सभा सदस्यका लागि सुनसरी ३ मा कांग्रेस गठबन्धनबाट उम्मेदवारी दिएका गच्छदारका मुख्य प्रतिस्पर्धी वाम गठबन्धनबाट एमालेकी भगवती चौधरी छिन् । गत स्थानीय तहको मतका आधारमा यो क्षेत्रमा काङ्ग्रेसले २१ हजार ५ सय ७७, एमालेले २० हजार २७, माओवादीले ५ हजार ९९३, राप्रपाले १ हजार ८८९, फोरम लोकतान्त्रिकले १७ हजार ६७३ र सङ्घीय समाजवादी फोरमले ३ हजार ४२७ मत पाएको थियो । यस आधारमा यो क्षेत्रमा वाम गठबन्धनको पक्षमा २६ हजार २० मत छ भने काङ्ग्रेस, राप्रपा र फोरम लोकतान्त्रिककोपक्षमा ४१ हजार १३९ मत हुन जान्छ । अवको निर्वाचनमा पनि यसैगरी मत आए गच्छदार पुनः निर्वा्चित बन्ने पक्का छ । एक नम्बर प्रदेशमा पर्ने यो जिल्लामा दोस्रो चरणमा निर्वाचन हुदैछ । जहा १ लाख ९ हजार ८४१ मतदाता छन् ।

बामदेव गौतम
एमाले उपाधयक्ष बामदेव गौतम बर्दियाबाट निर्वाचन लड्दैछन् । गौतम पूर्वगृहमन्त्री पनि हुन् । बाम गठबन्धनको तर्फबाट यो निर्वाचनमा पुर्व गृहमन्त्री गौतमसँग काङ्ग्रेस नेता तथा हालका सिंचाइ मन्त्री सञ्जयकुमार गौतमले प्रतिस्पर्धा गर्दैछन् । यो निर्वाचन क्षेत्रमा गत स्थानीय निर्वाचनमा वाम गठबन्धनको पक्षमा ५४ हजार ९५ मत आएको थियो भने लोकतान्त्रिक गठबन्धनको पक्षमा २५ हजार ७४२ मत आएको थियो । यो हिसावमा बाम गठबन्धनका गौतम २९ हजार १६३ मतले अगाडि रहेपछि उनको जित पक्का जस्तै बनेको छ ।

शक्तिबहादुर बस्नेत
माओवादी केन्द्रका युवा नेतामा पर्छन् शक्तिबहादुर बस्नेत । बस्नेत पूर्वगृहमन्त्री समेत हुन् । जाजरकोटबाट आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा बाम गठबन्धनबाट उम्मेदवार बनेका बस्नेतसँग कांग्रेसका राजिविक्रम शाहले चुनावी प्रतिश्पर्धा गर्दैछन् । जाजरकोटको स्थानीय तहको निर्वाचन मतका आधारमा बामपन्थी दलको ३८ हजार ६१ मत रहेको छ भने नेपाली काङ्ग्रेसको १९ हजार ४३९ छ । यस हिसावमा बस्नेत झण्डै १८ हजार मतले अगाडि देखिन्छन् । १ निर्वाचन क्षेत्र रहेको जाजरकोटमा यो पटक ८३ हजार ९३६ मतदाता छन् ।

विमलेन्द्र निधी
पूर्वगृहमन्त्री र कांग्रेसका नेता समेत रहेका विमलेन्द्र निधी धनुषा निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचन लड्दैछन् । यो क्षेत्रमा राजपाका राजेन्द्र महतोसमेत उम्मेदवार बनेपछि उनका निकटतम प्रतिश्पर्धी महतो नै हुने अनुमान गरिएको छ । कांग्रेसका नेता निधि र राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोबीच चुनावी टक्कर हुने भएपछि यस क्षेत्रको चर्चा बढि नै भइरहेको छ । कांग्रेस र मधेशवादी दलबीच चुनावी तलमेल गर्ने सहमति भएपनि यो क्षेत्रमा नमिलेपछि यी दुई नेता आमने सामनेमा आएका हुन् । यस क्षेत्रमा बाम गठबन्धनका छुट्टै उम्मेदवार पनि छन् । यहाँको गत स्थानीय तहको मत परिणाममा कांग्रेसले १८ हजार १३३ मत पाएको थियो भने राजपाले १३ हजार १७२ मत ल्याएको थियो । त्यस्तै एमालेले १२ हजार मत ल्याएको थियो । फोरम लोकतान्त्रिकले ८०६ मत ल्याएकोमा यो मत पनि निधीलाई नै जाने देखिन्छ । एमाले र माओवादीको मत बाम गठबन्धनलाई जाने तथा संघीय समाजबादी फोरमको मत राजपालाई जाने देखिन्छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७४, आइतवार ०३:३२