सूचनाको शक्ति - The Power Of Information

        

७० करोडको लागतमा जलोद्यान निर्माण गरिँदै


नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–१ धम्बोझीमा जलोद्यान (वाटरपार्क) निर्माणको काम शुरु भएको छ । रु ७० करोडको लागतमा जलोद्यान निर्माण थालिएको हो । निर्माण चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको नेपालगन्ज नगरविकास समितिका अध्यक्ष गोपाल पुनले बताए ।
जलोद्यानको कूल क्षेत्रफल ६५ बिघा रहेकामा १० बिघामा तालले ओगटेको छ । ‘ताल क्षेत्रलाई नौका बिहार र पौडी पोखरीका रुपमा विस्तार गरिने छ,’ पुनले भने, ‘उद्यानमा आकर्षक र मनमोहक फूलबारी, बाल उद्यानलगायत संरचना निर्माण गरिनेछ ।’
जलोद्यान निर्माणबाट नेपालगन्जको विकासमा टेवा पुग्ने नेपालगन्ज उपमहानगरपालिका–१ का वडाध्यक्ष प्रमोद रिजाल बताउँछन् । ‘जलोद्यानले धम्बोझी टोलको स्वरुप फेरिन्छ, व्यापारिक गतिविधि बढ्नुका साथै यहाँका बासिन्दाको जीवनस्तर नै फेरिन्छ,’ उनले भने ।
समितिले जलोद्यान क्षेत्रभित्र ६ देखि १८ मिटरसम्मको पक्की सडक निर्माण गर्नेछ । नेपालगञ्जको सुर्खेत सडकदेखि बर्दियाको गुलरिया सडकलाई उक्त उद्यानसँग जोडिने छ । जलोद्यान निर्माणको योजना दश वर्षअघि तयार गरिएको हो । जग्गा अधिग्रहणको विवादपछि निर्माण अगाडि बढ्न सकेको थिएन ।
अहिले पर्खाल, पैदलमार्ग र हरितक्षेत्र निर्माण भइरहेको छ । आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न, विकासको आधार बलियो बनाउन र नेपालगन्जको पहिचानलाई थप उचाइमा पु¥याउन जलोद्यान निर्माण जरुरी भएको स्थानीयवासी बताउँछन् ।

प्रकाशित मिति : २० श्रावण २०७५, आइतवार ०७:५८