सूचनाको शक्ति - The Power Of Information

        

भारतबाट ‘दशैं’ लिएर फर्किँदै नेपाली

काशीराम शर्मा
बाँके २८ भदौं । भारतको गुजरातबाट दशैं मनाउन फर्किएका दैलेख सिंगौडीका लालबहादुर शाही विहान झसमिसेमै रुपैडिहा बसपार्कमा आइपुगे । उनलाई दुई दिनको यात्रा सकेर रुपैडिहासम्म पुग्दा उनी थकित पनि थिए । उनलाई एउटै कुराको चिन्ता थपिएको थियो, सीमा नाका रुपैडियामा बसेका एसएसवी र भारतीय प्रहरीको गाली र अपमान सहनुपर्छ भन्ने । ‘कमाएको पैसा घर आँगनमै पुगेको बेला लुटिने आशंकामा डराईडराई जमुनाहासम्म आइपुगेँ,’ शाहीले भने । तर, जब उनी जमुनाहा पुगे, उनले सोचेजस्तो भएन । उनी ढुक्कसँग नेपाल प्रवेश गरे । दुई बर्षसम्म नेपाल नर्फिएका उनी ढुक्कसँग घर पुग्नेमा आशावादी देखिन्थे ।
उनीजस्तै भारतको सिम्लाबाट नेपाल फर्किँदै गरेका जाजरकोट जगतीपुरका आइते बिकलाई पनि उस्तै चिन्ता थियो । उनले भने, ‘सीमामा भारती प्रहरीले दुख दिन्छ, घुस माग्छ, सामान खोतलेर हैरान बनाउँछ भन्ने चिन्ता थियो । तर त्यसो भएन ।’ दशैं नजिकिएसँगै भारतबाट घर फर्किने नेपालीहरुलाई सुरक्षित गन्तव्यसम्म पु¥याउन नेपाल प्रहरीले पनि राम्रै खटनपटन गरिरहेको छ । इलाका प्रहरी कार्यालय जमुनहाका इन्चार्ज प्रहरी निरीक्षक सुधीर खड्काका अनुसार भारतीय प्रहरीसँगको समन्वयमा रुपैडिहा रेल्वे स्टेसन र बसपार्कमा नेपाल प्रहरी आफै पुगेर यात्रुहरुलाई सुरक्षित साथ नेपाल भित्र्याउने गरेको छ ।
प्रहरी निरीक्षक खड्काले भने, ‘रुपैडिहा रेल्वे स्टेशन र बसपार्कमा हुने ठगी, लुटपाट र अन्य घटनाहरु हुन नदिन नेपाल प्रहरी त्यहाँ पुग्ने गरेको छ ।’ भारतबाट नेपाल आउने नेपाली यात्रुलाई सुरक्षित साथ गन्तव्यसम्म पु¥याउन नेपाल प्रहरीले सीमा नाका जमुनाहामा यात्रु सहायता कक्ष समेत स्थापना गरेको छ । भारतबाट फर्किने नेपालीलाई लुटपाट, ठगी र अन्य अपराधजन्य घटना हुन नदिन यात्रु सहायता कक्षा स्थापना गरिएको प्रहरीले जनाएको छ । प्रहरीले भारतीय प्रहरी, एसएसबी र भारतीय भन्सारसँग समन्वय गरी नेपालीहरुलाई चेकजाँचका क्रममा विना झन्झट सुरक्षित नेपाल आउने वातावरण तयार गर्न लागिपरेको प्रहरी निरीक्षक खड्काले बताए ।
प्रहरी निरीक्षक खड्काका अनुसार भारतबाट फर्किने नेपालीहरु आफ्नो समूह बनाएर नेपाल फर्किरहेका छन् । दसैं नजिकिदैं गएपछि नेपाल फर्किनेहरुको संख्या बढ्दै गएको इलाका प्रहरी कार्यालय जमुनहाका इन्चार्ज प्रहरी निरीक्षक सुधिर खड्काले बताए । उनले हिजोआज दैनिक ४०० को हाराहारीमा नेपालीहरु भारतबाट नेपाल फर्किरहेको बताए । ‘दैनिक आउने नेपालीको संख्या बढ्दै गएको छ, दसैँ नजिकिन थालेपछि दैनिक २०० बढी थपिने गरेका छन्,’ प्रहरी निरीक्षक खड्काले भने । भारतबाट फर्किने नेपालीहरुले गर्दा गत एक महिनाको अवधीमा नेपालगन्जका होटलहरुले समेत राम्रो ब्यबसाय गर्न थालेका छन् । यस अवधीमा यहाँ होटेलहरु भरिभराउ भएका छन् । मध्यपश्चिमका पहाडी जिल्लाबाट बर्षेनी हजारौं नेपालीहरु रोजगारीका लागि भारत जाने गर्छन् ।
आर्थिक स्थिति कमजोर भएकाहरु असार, साउन महिनामा कमाइका लागि भारतका विभिन्न ठाउमा जाने गर्दछन् । दसै–तिहार मनाउन उनीहरु कात्तिक र असोजमा घर फर्किन्छन् । बर्षेनी कामका लागि रोल्पा, रुकुम, सुर्खेत, दैलेख, जाजरकोट, सल्यान लगायतका जिल्लाबाट धेरै नेपालीहरु भारत जाने गरेका छन् । उनीहरु स्याउको मौसम भएका बेला भारतको गढवाल, चन्डिगढ र शिमलामा स्याउ टिप्न जान्छन् । स्याउको सिजन सकिएपछि घर फर्किन्छन् । त्यहाँ जानेमा महिला, पुरुष र बालबालिका समेत रहेका छन् । घरमा खाद्यान्न किनमेल गर्ने पैसाको जोहो गर्न हरेक बर्ष नेपाली भारत जाने र दसै मनाउन फर्कने गरेका छन् ।

प्रकाशित मिति : २८ भाद्र २०७४, बुधबार ०५:३५