सूचनाको शक्ति - The Power Of Information

        

कामु प्रधानन्यायाधीश जोशीलाई महाअभियोगको तयारी


काठमाडौं । भोली सर्वसम्मत निर्णयका आधारमा सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दिपकराज जोशीलाई अयोग्य ठहर गर्ने वातावरण नबने सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले प्रतिनिधि सभामा महाअभियोग प्रस्ताव लैजाने तयारी गरेको छ ।
दुईतिहाई बहुमतका आधारमा सुनुवाईको निर्णयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरे महाअभियोग प्रस्ताव दर्ता गराई अयोग्य ठहर गर्ने तयारी भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलगायत नेकपामा कतिपय नेताले उनलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न सुझाव दिइसकेका छन् । जोशीले मानेका छैनन् । बरु, उनी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर सरकारसँग भिँडेरै बस्ने तयारीमा छन् ।
यता, संसदीय सुनुवाईका क्रममा निर्णय भईनसक्दै सरकारविरुद्ध प्रेसवक्तव्य जारी गर्दै ‘न्यायपालिकामाथि हस्तक्षेप’ भनेकोमा प्रधानमन्त्री ओली जोशीसँग क्रुद्ध छन् । नेकपामा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि उनलाई बोकेर हिँड्ने अवस्था नरहेको बताइसकेका छन् । जोशी अहिले नेपाली कांग्रेसका केही नेता, नेपाल बार एशोसीएशनका पदाधिकारीलाई लिएर संसदीय सुनुवाई समितिविरुद्ध सक्रिय छन् ।
सर्वसम्मतीमा जोशीलाई अयोग्य ठहर गर्नका लागि नेकपामा सांसदहरूले कांग्रेसलाई गरेको आग्रहका आधारमा नै निर्णयको मिति सरिरहेको छ । तर, नेपाली कांग्रेसले छानविनका लागि उपसमितिको माग राखी अड्को थापेको नेकपाको बुझाई छ । उपसमिति गठनको साटो सुनुवाईको प्रक्रिया लम्बिएको खण्डमा महाअभियोग दर्ता गरी दुई तिहाई बहुमतले जोशीलाई हटाउने रणनीतिमा नेकपा पुगेको छ ।
‘उहाँले सहजीकरण गर्नु भएन भने त्यसै हिसाबको निर्णय हुन्छ,’ नेकपाका एक सांसदले भने, ‘उहाँका विषयमा आएका विवादास्पद विषय जान्दाजान्दै न्यायपालिकामा अयोग्य व्यक्तिलाई प्रमुखको जिम्मा दिन सकिँदैन ।’ यसअघि जोशीले राजनीतिक कुरोकानी मिलाउने सन्दर्भमा राजनीतिक भेटलाई तिव्रता पनि दिए । औपचारिक र अनौपचारिक हिसाबले उनको दौडधुप जारी रहे पनि सत्तारुढ दलको राजीनामा दिनु भन्ने दबाबमा छन् ।
मंगलबार राती प्रधानमन्त्री ओलीले जोशीलाई राजीनामा दिनु सबैभन्दा उपयुक्त उपाय हुने बताएका थिए । साढे नौ बजे राती निवास बालुवाटारमा बोलाएर प्रधानमन्त्री ओलीले जोशीलाई ‘तपाई राजनीतिक झमेलामा नपर्नुस्, राजीनामा दिएर बाटो क्लियर गर्नुस् तपाई जति कांग्रेसलाई बोक्नुहुन्छ त्यति नै समस्यामा पर्दै जानुहुन्छ’ भनेका थिए । जोशी भने परेको व्यहोर्छु भन्दै प्रधानमन्त्री ओलीसँग फन्किएर हिँडेका थिए ।
तर प्रधानमन्त्रीसँगको भेटपछि जोशी नेपाल बार एशोसीएशनका अध्यक्ष शेरबहादुर केसीसहितलाई बोकेर कांग्रेस सभापति देउवालाई भेट्न पुगेपछि भने सत्तारुढ दल अझ आक्रोशित भएको छ । जोशीको विषयमा संसदीय सुनुवाई समितिका सदस्य निरु पाललाई आएको ज्यान मार्ने धम्की पनि प्रत्युत्पादक हुने बताइन्छ । उनलाई जोडेरै उक्त प्रकरणलाई हेर्न थालिएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७५, शुक्रबार ०६:५९