सूचनाको शक्ति - The Power Of Information

        

बुबालाई सामन्त घोषणा गर्दै घर राखिएका तमसुक च्यात्ने योद्धाको रामकहानी


राजेन्द्रप्रसाद पनेरु । कञ्चनपुर । ‘कि त जोत हलो कि त छोड थलो, यदि हैन भने अब छैन भलो’ भन्ने नारा दिएर किसानका पक्षमा सामन्तविरुद्ध सशस्त्र आन्दोलन गर्दै जीवनको आहुति दिएका क्रान्तिकारी नेता भीमदत्त पन्तलाई शब्दमा मात्रै चिन्ने गरिएको छ ।
पन्तका आदर्श र क्रान्तिमा उठाइएका मागलाई अगाडि नबढाइँदा किसान, सुकुम्बासी, विपन्न, दलितलगायत समुदायले न्याय पाउन सकेका छैनन् र नेता पन्तलाई आदर्श मान्दै आएका राजनीतिक पार्टीले सडकमा हुँदा उनलाई सम्झने र सत्तामा गएपछि बिर्सने परिपाटीले गर्दा भूमिहीन लगायत उपेक्षित समुदायले न्याय पाउन नसकेको भूमिअधिकारकर्मी रामबहादुर चुनाराले बताए ।
दलहरूमा आदर्शभन्दा सत्ता साँठगाँठलाई महत्व दिने प्रवृत्ति बढेका कारण र किसानलाई उपेक्षा गर्दै आएकाले पनि पन्तका सपना पूरा हुने नसकेको बताउँदै उनले भने, ‘भीमदत्तलाई शहीद घोषणा गरेर मात्र सम्मान भएको मान्न सकिँदैन र सच्चा सम्मान गरेको तब मानिने छ, जब उनले उठाएको मुद्दा सम्बोधन हुनेछ ।’
भूमिहीन, सुकुम्बासी, बाढीपीडित, हलिया, मुक्तकमैया, आरक्षपीडित, ऐलानीबासी, र किसानले जग्गा र जग्गाको अधिकार पाए मात्रै पिछडिएका जाति र समुदायले न्याय पाउने उहाँले बर्ता । उनले भने, ‘गरीबलाई खाना, बास, सुरक्षा, शिक्षा, उपचार र रोजगारीको ग्यारेण्टी गर्नु भीमदत्त पन्तलाई सम्मान गर्नु हो ।’
पन्तका स्वराज, स्वाभिमान, आत्मनिर्भर अर्थतन्त्र, कृषिमा आधुनिकीरणलगायत माग अहिले पनि आत्मसात् गर्न सकिने खालका रहेको प्रा लोकराज भट्टले बताए । किसान नेता पन्तले गरेको आन्दोलन र उठाएका माग जनतादेखि नेताहरूका मानसपटलमा रहे पनि कार्यान्वयन गर्ने आँट अहिलेसम्म देखिएको छैन ।
उनले भने, ‘कृषिलाई निर्वाहमुखीभन्दा व्यवसायीमुखी बनाइए प्रदेशकै कायापलट हुनसक्छ तर विडम्बना अहिलेसम्म त्यस्ता नीति र कार्यक्रम कार्यान्वयन हुन सकेका छैनन् ।’ डडेल्धुराको कारीगाउँमा विसं १९८३ मंसिर १० गते उनी आमा सरस्वती र बुवा तारनाथका सुपुत्रका रूपमा जन्मिएका थिए र विसं २०१० साउन १७ गते बुडरको गइलेक भन्ने ठाउँमा मगरका घरमा खाना पकाउन लागेका बेला टाउको काटेर उनको हत्या गरिएको थियो ।
काटेको टाउको बाँसको टुप्पामा झुण्ड्याई राजद्रोहीलाई यस्तै हुन्छ भन्ने प्रचार गरियो । पन्तले सामन्तीप्रथा उन्मूलन र छुवाछुतविरुद्धको आन्दोलन सशक्त रूपमा उठान गरी चेतना छर्ने कार्यका लागि सशस्त्र आन्दोलनको शुरुआत गरेका थिए । उनका सामन्तका घरबाट तमसुक फाड्ने तमसुक फट्टाकाण्ड, ब्रह्मदेव नुनकाण्ड चर्चित थिए । सामन्तलाई लक्ष्य गरी नेता पन्तले लगाउने गरेको कि त जोत हलो यदि हैन भने छाड थलो भन्ने नारा त्यस बेला जनजिब्रोमा झुण्डिएको थियो ।
उत्तरप्रदेश भारतको सिंहाईबाट संस्कृत विषयमा हाइस्कूलसम्मको अध्ययन गरेका पन्तलाई गीता र माक्र्सवादको राम्रो ज्ञान थियो । यसले नै उनमा राजनीतिक स्वभाव बढायो र सामन्ती संस्कारविरुद्ध आफ्नै घरबाट विद्रोह गर्ने व्यक्ति पन्त नै थिए । अन्याय र सामाजिक भेदभाव सहन नसक्ने पन्तले विसं २००७ देखि आन्दोलनको शुरुआत गरे । त्यसबेला उनलाई भीमदत्त काँग्रेस भन्ने गरिन्थ्यो र अन्याय गर्नेलाई दण्डसजाय ।
गरीब, दलित, जनजाति र किसानलाई सङ्गठित गरी राणाविरोधी आन्दोलनमा समेत पन्तको ठूलो भूमिका रह्यो । तर २००७ सालको राजनीतिक परिवर्तनपछि काँग्रेसले गरेको व्यवहार उनलाई मन परेन र उनले क्रान्ति पूरा भएको छैन भनी राणासित मिलेर बनेको सरकारको विरोध गरे । परिवर्तनका पक्षमा स्पष्ट अडान भएका पन्तले दलित, मगर । थारुहरू सङ्गठित गरी मुक्ति सेना गठन गरे । नेपालगन्जका गौरीलाल र रुपसिंह सेनाका कमाण्डर थिए र दक्षिण भारतका कृष्ण स्वामी एंगर योजनाकार थिए । गर्बु थारु र लवरा थारु मन्त्री थिए ।
किसानलाई बेदखल गर्ने, उनीहरूको नाममा जाली तमसुक बनाउने र श्रमशोषण गर्ने ठालुहरूलाई उनले कारवाही गर्न थाले । उनीहरूलाई दलितको भान्सामा खाना खान लगाउँथे र उनको क्रान्ति विरोध गर्ने र कारवाही गर्नेमा मात्र सीमित थिएन । गरीबहरू संगठित हुनुपर्छ, अन्न खेर फाल्नु हुँदैन, उत्पादन बढाउनुपर्छ, अनावश्यक खर्च घटाउनुपर्छ, प्रकृति बिग्रने काम गर्नु हुँदैन जस्ता कुरामा पनि उनले सचेतना अभियान चलाएका थिए ।
सुदूरपश्चिम र मध्यपश्चिमका अधिकाँश जिल्लामा भ्रमण गर्दा गरीबले नूनसमेत खान नपाएको थाहा पाएर उनले नून आन्दोलनको घोषणा गरे । कञ्चनपुरको ब्रह्मदेवमा भएको गाोदामबाट गरीबलाई नुन र कपडा वितरण गरे । त्यति नै बेला गड्डाचौकी भन्सारमा उनलाई समातियो । हातखुट्टा बाँधेर नेपालगन्ज पुर्याइयो । भागेर ज्यान बचाई कञ्चनपुर आए । उनले आफ्ना बुबालाई पनि सामन्त भएको बताई घरमा भएका तमसुक च्याते, जलाइदिए ।
मालअड्डामा भएका मूठहरू जलाइदिए । त्यसपछि बडाहाकिम मोहनबहादुर सिंहलाई हटाएर आफू बडाहाकिम भई बसे । क्रान्तिमा सहयोग गर्नेहरूलाई कर्मचारी बनाए । चार महिनासम्म उनले शासन चलाए । उनले बेलौरीमा बंैक कब्जा गरी त्यहाँबाट लिइएको पैसा सैनिकलाई तलब दिएर बाँकी कमैया र हलियालाई सहयोग गरे । उठ जागरे, नेपाली नवजवान जागरे, नेपालमा तम म, नेपाल देशलाई स्वतन्त्र बनाऊँ रे भन्ने उनको देशभक्ति गीत थियो ।
सरकारले पन्तलाई पटक पटक काराबास हाल्यो । त्यसबाट पनि पन्त विचलित नभएपछि मार्ने षडयन्त्र गरी भारतीय सैनिकसमेत बोलाइयो । पन्त बेलौरी कब्जा गरी धनगढी कब्जा गर्ने तयारी साथ हिँडिरहेका बेला भारतीय सैनिकले घेरामा पारे । उनी त्यहाँबाट बच्न सफल भई केही सैनिकका साथ निंगाली, सहजपुर हुँदै डोटी बुडर पुगे । सबैलाई सुरक्षित बाहिर निकाल्न नसक्दा धेरै सैनिक मारिए ।
विसं २०१० साउन १७ गते बुडरको गइलेकमा मगरका घरमा खाना पकाउन लागेका बेला गोली हानियो र पछि टाउको काटी मारियो । टाउको लगेर बडाहाकिम सिंहलाई बुझाइयो । काटिएको टाउको बाँसको टुप्पामा झुण्ड्याई राजद्रोहीलाई यस्तै हुन्छ भन्ने प्रचार गरियो । किसान आन्दोलनको नेतृत्व गरी सबै दलका आदर्श बनेका पन्त लामो समयपछि शहीद घोषित भए । विसं २०७२ फागुनमा सरकारले पन्तसहित किसान विद्रोहका २२ नेतालाई शहीद घोषणा गरेको छ ।
पूर्वउपसभामुख भोजराज जोशी पन्तका सपनालाई साकार बनाउनका लागि सरकारले जनमुखी योजना ल्याई देशलाई अग्रमगमनतर्फ डोर्याउनुपर्ने बताउँछन् । पन्तको शालिकमा फूलमाला चढाएर मात्रै उनले देखेका सपना पूरा नहुने भएकाले नीति, योजना बनाई कार्यान्वयन गर्ने दृढ निश्चयको खाँचो रहेको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले बताए । रासस

प्रकाशित मिति : १७ श्रावण २०७५, बिहीबार १२:५७