सूचनाको शक्ति - The Power Of Information

        

मुलुकको समृद्धि : आधार र सर्त


रविकिरण हमाल

नेपालमा उद्योग, यातायात सञ्चालनका लागि उर्जाको मुख्य स्रोत नै हाइड्रोपावर हो ।

संविधान सभाबाट नेपालको संविधान बनेपछि सबै राजनैतिक दलहरु र आमजनताको चाहना सुख र समृद्धि नै रहेको प्रष्ट छ । प्रायः सबैको जिब्रोमा झुन्डिएको शब्द समृद्धि नै हो । आखिर समृद्धिका आधारहरु के के हुन् ? के के भयो भने समृद्धि हासिल हुन्छ ? चुनावताका सबै दलका नेताहरूले विकास र समृद्धिको सपना बाँडे, हुन त राजा महेन्द्रले पञ्चायतकालमा पनि विकासको मुल फुटाउने कुरा नभएका होइनन् । केहि सिमित शासक र तिनका आसेपासेको मात्र जीवनस्तर बदलिँदैमा त्यो देश बिकास भएको मानिदैन । हामीले चाहेको समतामूलक विकास र समृद्धि हो । समृद्धिका मुख्य आधारहरु बारे पनि केही चर्चा गरौं ।

आर्थिक वृद्धि
समृद्धिको मुख्य आधार नै तीव्र आर्थिक वृद्धि हो । राष्ट्रिय औद्योगिक पूजिको विकासका लागि राज्य र निजी क्षेत्रले प्रविधि, पूजि र श्रमको समायोजन गर्नुपर्छ । देशको ढुकुटी भरियो भने मात्र सरकारले सबैलाई बाड्न सक्छ । मुख्यतः रोजगारी र सामाजिक न्यायसहितको नीतिले विकासको प्रतिफल सबै वर्ग, क्षेत्र र समुदायमा समन्यायिक ढंगले पुग्छ । उर्जा, यातायात, शिक्षण संस्था सञ्चार लागयतका पूर्वाधार निर्माण गर्न स्वदेशी तथा विदेशी प्रविधि र लगानीलाई विशेष जोड गर्नुपर्छ । रेमिटेन्सको ठुलो हिस्सा अनुत्पादक क्षेत्रमा खर्च भइरहेको छ । विदेशमा बस्ने नेपालीहरुलाई उर्जा, कलकारखाना लगायत ठाँउमा शेयरको ब्यवस्थापन गर्नु आवश्यक छ । लगातार दुइ अंकको आर्थिक वृद्धि दर हासिल नै प्रमुख लक्ष्य हुनुपर्छ ।

मानवीय विकास
खासगरी मानवीय विकासको कुरा गर्दा HDI (Human Development Index) लाई आधार मान्य गरिन्छ । जनताको प्रतिव्यक्ति आय, औसत आयु, साक्षरता लगायतका विषयलाई मुख्य मापदण्ड बनाइएको छ । प्रतिव्यक्ति आयलाई हरेक देशका जनताको जीवनस्तरसँग पनि तुलना गरिएको हुन्छ । नेपालको PCI भर्खरै १ हजार डलर पुगेको छ, जो विकसित मुलुकभन्दा १२ गुणा कम हो । नेपाली जनताको औसत आयु २०७१/०७२ रहेको छ । तर हामीले स्वस्थ आयुको कुरालाई गम्भीरताका साथ लिनुपर्छ । त्यस्तै साक्षरता ७४५ छ , सामान्य लेखपढ गर्ने मात्र साक्षरताको मापदण्ड बन्नु हुँदैन, जीवन निर्वाह गर्ने सीप, ज्ञान भएका साक्षर नागरिक उत्पादन गर्नु नै राज्यको दायित्व हो । शिक्षाले नागरिकलाई व्यावसायिक मात्र होइन नैतिकवान पनि बनाउनुपर्छ । आफ्नो देश र समाजका समस्याहरु पहिचान गरेर समाधान गर्न इनोभेटिभ आइडिया सिर्जना गर्ने खालको शैक्षिक प्रणालीको विकास जरुरी छ ।

दिगो बिकास
SDG – दीर्घकालीन विकासको अवधारणालाई नेपालले पनि आत्मसात गरिसकेको छ । विकास निर्माण टिकाउ हुनुपर्छ, वातावरण र पर्यावरणलाई ध्यानमा राखेर हुने निर्माणले नै भावी पुस्ताका लागि जिम्मेवार बहन गर्नु हो । हामीले 3R (Reuse, Renew, Recycle) लाई व्यवस्थित गर्न सकेमा मात्र उपलब्ध स्रोत साधनबाट अधिकतम फाइदा लिन सकिन्छ । हाइड्रो र सोलार उर्जालाई हामीले प्रमुख प्राथमिकता राख्नुपर्छ । नेपालमा उद्योग, यातायात सञ्चालनका लागि उर्जाको मुख्य स्रोत नै हाइड्रोपावर हो । दक्षिणी एसियामा पानीको मुख्य मुहान नेपालको हिमाली क्षेत्रमा जलवायु परिवर्तनको गम्भीर असर देखापर्ने खतरा छ । ग्लोबल वार्मिङले गल्यासिएर पग्लने र प्रदुषित हुन्छ । थर्ड पोल रिजनलाई जोगाउन सबै देशसँग सहकार्य आवश्यक छ । गरिबी, बेरोजगारी, पुरुष प्रधान समाज, लैगिक विभेद, क्षेत्रीय असमानतालाई समाधान गर्न सबैको समतामूलक सहभागीता र अपनत्व हुनेखालका विकास निर्माणलाई नै गति दिनुपर्नेमा सरकार गम्भीर भएर लाग्नुपर्छ ।

खुसी शास्त्र
२१ औं शताब्दीमा भौतिक विकास मात्र समृद्धिको मापक हुन सक्दैन । आत्मिक सन्तुष्टि पनि उत्तिकै महत्वपूर्ण हुन्छ । खेलकुद मनोरञ्जनजस्ता कुरामा विशेष ध्यान दिनुपर्छ । राष्ट्रसंघले पनि योग दिवस मनाउन थालेको छ । योग, ध्यान केन्द्रहरु स्थापना हुनुपर्छ । नाचगान तथा संगीत कार्यक्रम, धार्मिक महोत्सव, मेलाजस्ता कुराहरूले विभिन्न खेमामा बिभाजित समाजलाई जोड्ने, एकतामा बाध्ने काम गर्छ । हाम्रा नगरीक पर्यटनका लागि कति देश विदेश घुम्छन् भन्ने कुरा पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।
हामी अर्को के कुरामा पनि प्रष्ट हुुनुपर्छ भने समृद्धि भनेको एउटा ऐतिहासिक प्रक्रिया हो, एउटा परिघटना मात्र हैन । मानिसमा रहेको उत्पादनशील र सिर्जनशील क्षमताको अधिकतम प्रष्फुटन र त्यसको समन्यायिक वितरण र उपभोगबाट सामाजिक मान्छेले प्राप्त गर्ने सन्तुष्टिको आधिक्यीकरण नै समृद्धि हो । त्यो स्वतः नै देश र कालसापेक्ष हुन्छ र निरन्तर परिवर्तनशील हुन्छ । भर्खरै अर्धसामन्ती कृषिप्रधान अर्थतन्त्रबाट व्यापारिक पूजिवाद हुँदै औद्योगिक पूजिवादतर्फ संक्रमण गर्न लागेको नेपाली समाजमा पहिले पूजिवादी उत्पादक शक्तिहरूको विकास गरेर मात्र समाजवादको बाटो तय गर्न सम्भव हुन्छ ।

प्रकाशित मिति : १६ श्रावण २०७५, बुधबार १०:५९