सूचनाको शक्ति - The Power Of Information

        

मुलुकभर जघन्य अपराधका घटनामा वृद्धि, तीन वर्षमा १७ हजार ३६ मुद्दा दर्ता


अच्युत रेग्मी । काठमाडौ । मुलुकभर जघन्य अपराधको घटनामा वृद्धि भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७३/७४ को तुलनामा आव २०७४/७५ मा जघन्य अपराधका घटनामा वृद्धि भएको हो ।
आव २०७४/७५ मा छ हजार ६४६ जघन्य अपराधका मुद्दा अदालतमा दर्ता भएका छन् । आव २०७३/७४ मा पाँच हजार ४४५ जघन्य अपराध सम्बन्धी मुद्दा दर्ता भएको थियो । यस्तै आव २०७२/७३ मा चार हजार ९४५ मुद्दा दर्ता भएका थिए ।
आव २०७४/७५ मा खुनडाँका दुई, कर्तव्य ज्यान ६२८, ज्यान मार्ने उद्योग ७२८, डाँका चोरी २७, लागूऔषध तीन हजार ८८, व्यक्ति अपहरण ७७, हातहतियार खरखजना २५४, मानव बेचबिखन तथा ओसारपसार ३०८, जबर्जस्ती करणी एक हजार ४८०, विस्फोटक पदार्थ ५४ मुद्दा दर्ता भएका छन् ।
प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्री जनसंख्याको वृद्धि र प्रहरीको सक्रियतासँगै जघन्य अपराधका घटनामा वृद्धि भएको बताउँछन् । ‘प्रहरीले हरेक निवेदनको गम्भीरताका साथ अध्ययन अनुसन्धान गरेको छ, त्यस कारण पनि जघन्य अपराधका घटना बढेको हो,’ उनी भन्छन् । जघन्य अपराध भनेको माफ नहुने अपराध हुन् । जुन अपराध गम्भीर प्रकृतिका हुन्छन् ।

प्रदेश नं ३ मा जघन्य अपराध मुद्दा धेरै
मुलुकको राजधानी काठमाडौँसमेत रहेको प्रदेश नं ३ मा जघन्य अपराधको घटना बढी रहेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार प्रदेश नं ३ मा मात्र विभिन्न अपराधमा एक हजार ६४९ मुद्दा दर्ता भएका छन् ।
काठमाडौँ, भक्तपुर र ललितपुरमा ९२१, केन्द्रीय अनुसन्धान ब्यूरो र लागूऔषध नियन्त्रण ब्यूरोमा ४५ तथा प्रदेश नं ३ का अरु जिल्लामा ६८३ मुद्दा दर्ता भएका छन् । लागूऔषध सम्बन्धी ७८६ मुद्दा रहेका छन् । यसैगरी प्रदेश १ मा एक हजार ५२३, प्रदेश २ मा एक हजार ६१, प्रदेश ४ मा ५४२, प्रदेश ५ मा एक हजार २८८, प्रदेश ६ मा २०७ र प्रदेश ७ मा ३७६ मुद्दा दर्ता भएका छन् ।

मुलुकभर लागूऔषधका मुद्दा धेरै
दर्ता भएका जघन्य अपराधका घटनामा लागूऔषधका घटना बढी रहेका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार लागूऔषध ओसारपसारमा मात्र तीन हजार ८८ मुद्दा दर्ता भएका छन् । जसमा उपत्यका ५१८, प्रदेश १ मा ७१९, प्रदेश २ मा ४८६, प्रदेश ३ मा २६८, प्रदेश ४ मा २८३, प्रदेश ५ मा ६२८, प्रदेश ६ मा ४८ र प्रदेश ७ मा १३८ मुद्दा दर्ता भएका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरोका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक ठूले राई प्रहरीको सक्रियता बढेसँगै लागूऔषध दुव्यर्सनीका घटनामा वृद्धि भएको बताउँछन् । ‘लागूऔषधमा धेरै वस्तु रहेका छन्, धेरै ठाउँबाट थोरै सामान बरामद भए पनि लागूऔषधका घटनामा वृद्धि भएको देखिन्छ,’ उनी भन्छन् । लागूऔषधपछि जबर्जस्ती करणीमा धेरै मुद्दा दर्ता भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार जबर्जस्ती करणीमा मुलुकभर एक हजार ४८० मुद्दा दर्ता भएका हुन् ।

तराईका जिल्लामा मुद्दा धेरै
दर्ता भएका अपराधका घटनालाई हेर्दा तराईका जिल्लामा जघन्य अपराधका धेरै घटना घटेका छन् । तराईका मात्र जिल्ला रहेको प्रदेश २ र प्रदेश ५ मा जघन्य अपराध अरु प्रदेशको तुलनामा बढी रहेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार नेपाल–भारत खुला सिमानाका कारण तराई क्षेत्रमा बढी घटना घट्ने गरेका हुन् । रासस

प्रकाशित मिति : १५ श्रावण २०७५, मंगलवार ०८:५०