सूचनाको शक्ति - The Power Of Information

        

सल्यानमा एक वर्षमा ३७ सवारी दुर्घटनामा २० जनाको मृत्यु, ५५ लाख राजश्व संकलन

सल्यान । सल्यानमा गत आर्थिक वर्षमा सल्यानमा ३७ वटा सवारीसाधन दुर्घटनामा परी २० जनाको ज्यान गएको छ । तीमध्ये १२ पुरुष, सात महिला र एक बालक रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
उक्त अवधिमा दुर्घटनामा परी ६३ जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा २९ पुरुष, २४ महिला, ६ बालक र चार बालिका रहेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । त्यस्तै सवारी साधनको कारबाहीबाट गतवर्ष सल्यानमा रु ५४ लाख ८० हजार राजश्व संकलन भएको छ ।
ट्राफिक नियम उल्लंघन गर्ने १० हजार २६० सवारी साधनको कारबाहीबाट उक्त राजश्व संकलन भएको हो । ट्राफिक नियम उलंघन गर्ने मोटरसाइकलबाट रु २७ लाख ९६ हजार, ट्रयाक्टरबाट रु सात लाख ७५ हजार, जीपबाट रु ६ लाख ६७ हजार, ट्रकबाट रु सात लाख ७६ हजार र बसबाट रु चार लाख ६६ हजार राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
कारबाहीमा पर्ने सबैभन्दा बढी मोटरसाइकल रहेको जिल्ला ट्राफिक कार्यालय सल्यानका इन्चार्ज गोपाल शर्माले जानकारी दिए । जिल्लामा पाँच हजार २२५ मोटरसाइकल कारबाहीमा परेको उनले जानकारी दिए । उक्त अवधिमा एक हजार ४९९ ट्रयाक्टर, एक हजार २६४ जीप, एक हजार ४२६ ट्रक र ८४६ बस कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
‘सवारी साधनमा क्षमता भन्दा बढी यात्रु ओसारपसार गर्ने, क्षमता भन्दा बढी सामान लोड गर्ने, कृषि परियोजनका लागि खरीद गरेका यातायातका साधनमा ट्रली जडान गरेर नियम उलंघन गरेको पाइएको छ,’ इन्चार्ज शर्माले भने, ‘लाइसेन्स नभएका र लाइसेन्स भए पनि साधन चलाउँदासँगै नराख्ने सवारी चालक र सञ्चालकलाई पनि कारबाही गरिएको छ ।’

प्रकाशित मिति : १२ श्रावण २०७५, शनिबार १०:५८