सूचनाको शक्ति - The Power Of Information

        

बाढीले घरखेत बगाएपछि वडाध्यक्ष नै घरबारविहिन


रुकुम । रुकुमको सानीभेरी गाउँपालिका वडा नं १ का वडाध्यक्ष टेकबहादुर पुनको घरखेत बाढीले बगाएपछि घरबारविहिन भएका छन् । सानीभेरी गाउँपालिका वडा नं १ पक्रैयाँमा रहेको घर र घरवरीपरीको ६ रोपनी जग्गा बाढीले पूर्ण रुपमा क्षति गरेको छ ।
गतवर्ष किनेको घर र खेत खहरे खोलाले बगाए पछी वडा अध्यक्ष घरबार विहिन भएका हुन् । विहिबार साँझ ४ बजेतिर परेको अविरल वर्षाको कारण घरभन्दा माथिको खहरे खोलाको बाढीले घरखेत पुरेको छ । बाढीले मानविय क्षति नगरे पनि घर र खेतमा बाढी पस्दा खेतको बाली र आँप लिचीको बगैचा पूर्णरुपमा पुरेको छ ।
अध्यक्ष पुनका अनुसार यसभन्दा १ महिना पहिले पनि बाढी घरमा पस्दा केहि क्षेति भए पनि अहिले परै क्षति बेहोर्नुपरेको बताए । आफ्नो घरमा यस्तो विपत्ती आइलाग्दा पनि अध्यक्ष पुन गाउँका अन्य जोखिममा रहेका घर तथा बस्तीहरुमा नियमित रुपमा जाने गरेको बताए ।
उनले भने, ‘मेरो यस्तो अवस्था छ, राहतको लागि कुरा गर्दा जिल्ला प्रशासनबाट ४ हजार मात्र पाइन्छ भनेपछि आफु लगायत गाउँका थुप्रै पहिरोको जोखिममा रहेको बस्ती निरास भएका छन् ।’ आर्थिक सहयोग नभए पनि आफ्नो लगायत अन्य जोखिममा रहेका घर बस्तीहरुलाई पहिरो रोकथामका लागि आवश्यक पर्ने तार जाली तथा अन्य सामाग्रीको सहयोगको अपेक्षा गरेको बताए ।
निर्माणाधिन मध्यपहाडी लोकमार्गको मुनिपट्टि रहेको घर र बारीमा मध्य पहाडी लोकमार्गमा खनेको नयाँ माटो र १ नं वडाले खनेको कृषि सडकको माटो मुसल्धारे वर्षाको कारण बाढीको रुप लिइ घर बारीमा पस्दा यस्तो विपत्ती भएको हो । साविकको पूर्तिमकाँडा गाविसमा पर्ने पक्रैया बस्ती र आसपासको क्षेत्र बाढी पहिरोको उच्च जोखिममा रहेको छ ।
यसभन्दा अघि पनि पूर्तिमकाँडाको गिठाकोटमा पहिरोले घर वगाउदा एकै घरका ७ जनाको र पूर्तिमकाँडा गाउँमा एकै घरका ३ जनाको ज्यान गैसकेको छ । भौगोलिक रुपमा अति कमजोर भू बनावट रहेको पूर्तिमकाँडा सानीभेरी गाउँपालिकाकै जोखिममा रहेको मानिएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७५, मंगलवार ००:४१