सूचनाको शक्ति - The Power Of Information

        

प्राविधिक धारको विद्यार्थी बढाउन त्रिविलाई चुनौती


प्रकाश सिलवाल । काठमाडौं । सरकारले प्राविधिक धारको शिक्षालाई प्राथमिकता दिने नीति लिएका बेला मुलुकको जेठो त्रिभुवन विश्वविद्यालयमा यस धारको विद्यार्थी संख्या न्यून पाइएको छ । विश्वविद्यालयले पनि विगतदेखि प्राविधिक शिक्षामा पहुँच बढाउने नीति लिँदै आएकोमा सोचेजति यस क्षेत्रका विद्यार्थी वृद्धि हुन सकेको छैन । विश्वविद्यालयको ५६औँ ‘ग्रेस लिष्ट’मा प्राविधिकतर्फ उपाधि प्राप्त गर्ने विद्यार्थीको प्रतिशत १४ दशमलव ९१ देखिएको छ ।
यो प्रतिशत गतवर्षको तुलनामा १ दशमलव १५ प्रतिशतले बढी भए पनि मुलुकको आवश्यकताअनुसारको प्राविधिक जनशक्ति उत्पादन वृद्धि हुन चुनौती देखाएको छ । त्रिवि मुलुकको उच्च शिक्षाको ८० प्रतिशतभन्दा बढी जिम्मेवारी बहन गर्ने विश्वविद्यालयमा हो । त्रिविको ५९औँ वार्षिक दिवसका अवसरमा आज सम्पन्न सिनेट बैठकले स्वीकृत गरेको ‘ग्रेस लिष्ट’ अनुसार सबैभन्दा कम वन विज्ञान अध्ययन संस्थानतर्फ २१० विद्यार्थी उत्तीर्ण भएको देखिएका छन् ।
कृषिप्रधान मुलुकमा त्रिविको कृषि र पशु विज्ञान अध्ययन संस्थानतर्फ ३२६ मात्र विद्यार्थी छन् । सबै विषयमा तोकिएको अवधिमा आवश्यकता पूरा गरी परीक्षासमेत उत्तीर्ण गरी ‘ट्रान्सक्रिप्ट’ लिइसकेका जम्मा ७३ हजार ९०१ जना विद्यार्थी ५६औँ ‘ग्रेस लिष्ट’ मा परेका छन् । यी विद्यार्थीलाई आगामी पुसमा दीक्षित गरिनेछ । बैठकमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले प्राविधिक विषयमा न्यून विद्यार्थी भएकामा चिन्ता व्यक्त गर्दै मुलुकमा कुन क्षेत्रमा कति जनशक्ति आवश्यकता पर्छ भन्ने योजना तयार गरेर अध्ययन अध्यापन गराउन निर्देशन दिए ।
प्रधानमन्त्री ओलीले पदबहालीपछिको पहिलो निर्णयमा हरेक स्थानीय तहमा कम्तीमा एक प्राविधिक शिक्षालय स्थापना गर्ने घोषणा गरेका थिए । त्रिविको उक्त सूचीमा चिकित्सा शास्त्र अध्ययन संस्थानमा एक हजार ८२१, इञ्जिनियरिङ अध्ययन संस्थानमा दुई हजार ७१२ र विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा पाँच हजार ९५५ विद्यार्थी छन् ।
झापाको गौरादहमा त्रिविले हालै कृषि क्याम्पस स्थापना गरेको छ भने सरकारले सोका लागि ४५ दरबन्दी दिएको तथा रामपुर कृषि क्याम्पसमा आठ वर्षसम्म अवरुद्ध भएको पठनपाठन यसै वर्षदेखि चितवनको खैरेनीमा सञ्चालनमा ल्याएकाले आगामी वर्ष यी विषयमा विद्यार्थी वृद्धि हुने त्रिविमा रजिष्ट्रार डिल्लीराम उप्रेतीले बताए । त्रिविमा सबैभन्दा बढी विद्यार्थी शिक्षा शास्त्र संकायमा छन् ।
यो संकायमा कूल २४ हजार ७०३, व्यवस्थापनमा २२ हजार ६०९, मानविकी तथा सामाजिक संकायमा १४ हजार २१५ र कानुन संकायमा एक हजार ३५० विद्यार्थी उत्तीर्ण भएका छन् । विश्वविद्यालयका उपकुलपति डा तीर्थराज खनियाँले त्रिविको प्राविधिक शिक्षा विस्तारका लागि सरकारले प्रयोगशाला र दरबन्दी बढाउने नीति लिएकामा खुशी व्यक्त गर्दै प्राविधिक क्षेत्रमा अध्ययन विद्यार्थीलाई इन्टर्नको परिचालन गर्न रकम छुट्याएको जानकारी दिए । रासस

प्रकाशित मिति : ६ श्रावण २०७५, आइतवार ०२:१५