सूचनाको शक्ति - The Power Of Information

        

सुर्खेतमा फेला परेनन् १३१ महिला बालबालिका

सुर्खेत । गत आर्थिक वर्ष यहाँ हराएकामध्ये अहिलेसम्म १३१ जना महिला तथा बालबालिका फेला नपरेको तथ्याङ्क सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले सार्वजनिक गरेको तथ्याङ्कमा आव २०७४/७५ महिला तथा बालबालिका हराउने दर बढेको बताएको छ ।
गतवर्ष बालक ७८, बालिका ४३ र महिला २०६ जना गरी जम्मा ३३७ जना महिला तथा बालबालिका हराएकामा बालक ४९, बालिका ३४ र महिला ११३ गरी १९६ जना फेला परेको र अझै १३१ महिला बालबालिका हराइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक श्याम चौधरीले बताए ।
‘हराइरहेकामध्ये २९ बालक, नौ बालिका र ९३ महिला छन्, उनीहरुको खोजीकार्यमा प्रहरी लागिरहेको छ,’ प्रहरी नायब निरीक्षक चौधरीले भने । यसरी महिला तथा बालबालिका हराउनुमा डिप्रेसन, लागू औषध दुव्र्यसनी, घरायसी झैझगडा, विवाह गरेर घर छोड्ने र मायाप्रीतिमा देखिने खटपट मुख्य कारण रहेको उनले बताए ।

सवारी कारवाहीबाट रु ८७ लाख ७३ हजार राजश्व संकलन
यसैगरी जिल्ला प्रहरी कार्यालय सुर्खेतले सवारी कारवाहीबाट गतवर्ष रु ८७ लाख ७३ हजार राजश्व संकलन गरेको छ । आव २०७४/७५ मा सुर्खेत प्रहरीले १४ हजार ९९४ सवारी साधनलाई कारवाही गरेको थियो । ट्राफिक नियम उल्लङ्घन गर्ने, मादक पदार्थ सेवन गरी सञ्चालन गर्ने, तोकिएको मापदण्डभन्दा बढी भार बहन गर्ने सवारी कारवाहीमा परेको प्रहरी नायब उपरीक्षक चौधरीले बताए ।
यो अवस्था विगतको भन्दा अझ बढेको उनको भनाइ छ । त्यस्तै, ४९ सवारी दुर्घटना हुँदा ३५ जनाको मृत्यु, ६३ गम्भीर घाइते र ५२ सामान्य घाइते भएको उनले बताए । गएको वर्ष सामान्य दुर्घटना २९२ हुँदा १८७ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७५, शनिबार ०६:५२