सूचनाको शक्ति - The Power Of Information

        

बाँकेको खड्गवारलाई नमूना कृषि गाउँ बनाइने


बाँके । बाँके जिल्लाको निर्वाचन क्षेत्र नं १ अन्तरगतको कोहलपुर नगरपालिका वडा नं १३ स्थित खड्गवार गाउँलाई नमूना कृषि गाउँ बनाइने भएको छ । प्रदेश नं ५ सरकारले उक्त स्थानमा नमूना कृषि गाउँ निर्माण गर्न आवश्यक प्रक्रियासमेत अघि बढाएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले बताइन् ।
प्रदेश सरकारले ल्याएको एक निर्वाचन क्षेत्रमा एक नमूना कृषि गाउँ कार्यक्रम अन्तर्गत बाँकेको खड्गबार गाउँलाई छनोट गरिएको हो । बाँकेका अन्य दुई निर्वाचन क्षेत्रका गाउँ अझै टुंगो नलागेको मन्त्री पौडेलले जानकारी दिइन् । किसानलाई प्रविधिको अभाव हुन नदिन एकजना प्राविधिक पनि प्रदेश सरकारले नै नियुक्ति गरेर नमूना गाउँमा खटाउने गरी कार्य अगाडि बढाइएको पनि उहाँले बताउनुभयो ।
प्रदेश नं ५ को भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमार्फत प्रदेश अन्तरगतका ५२ निर्वाचन क्षेत्रमा यसखाले नमूना कृषि गाउँ निर्माण हुने मन्त्रालयका सचिव यमनारायण देवकोटाले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ४ श्रावण २०७५, शुक्रबार १०:०३