सूचनाको शक्ति - The Power Of Information

        

३० जिल्लामा बाढीका कारण कृषिमा पाँच अर्ब क्षति


काठमाडौँ । कृषि विकास मन्त्रालयले केही महिनाअघि तराईमा गएको बाढीका कारण ३० जिल्लामा रु पाँच अर्बभन्दा बढीको कृषि क्षेत्रमा क्षति पुगेको जनाएको छ । ३३ औं विश्व खाद्य दिवसका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा यसले खाद्य सुरक्षामा अप्रत्याशित ह्रास हुन सक्ने भन्दै रु एक अर्ब २५ लाख करोडको राहत कार्यक्रम कार्यान्वयनमा ल्याइएको जानकारी दिइएको छ ।
सो अवसरमा विभिन्न ३३ विधामा छानिएका देशभरका ९८ कृषक, सूमह, समिति, सहकारी र संघसंस्थालाई पुरस्कृत गरिएको छ । कृषि राज्यमन्त्री सरिता प्रसाईंले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै कृषकले खोजेजस्तै सहज ऋण, बीउबिजन र उत्पादनको उचित व्यवस्थापनमा ध्यान दिइने उल्लेख गरे । दिवसमा ‘खाद्य सुरक्षा र ग्रामीण विकासमा लगानी बढाऔँ, भावी बसाइँ–सराइलाई व्यवस्थित गरौँ’ भन्ने नारा तय गरिएको थियो ।
हरेक वर्ष असोज ३० गते अर्थात् अक्टोबर १६ का दिन सो दिवस मनाउने गरिए पनि तिहार परेकाले आज कार्यक्रम गरिएको मन्त्रालयले जनाएको छ । सो अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य डा प्रभु बुढाथोकीले कृषिमा गरिने लगानी कृषकमुखी हुनुपर्नेमा जोड दिए । कृषि विकास मन्त्रालयका सचिव डा सुरोज पोखरेलले बढ्दो कृषि वस्तुको आयातका कारण व्यापार घाटा भइरहेको बताए । उनले भने, ‘खाद्य, पोषण सुरक्षा र व्यावसायिक रुपमा महत्वपूर्ण उपजको उत्पादनमा उल्लेख्य वृद्धि गर्न आयात प्रतिस्थापन गर्ने उद्देश्यले आव २०७३÷७४ देखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू भएको छ ।’ रासस

प्रकाशित मिति : २२ कार्तिक २०७४, बुधबार ०८:३१