सूचनाको शक्ति - The Power Of Information

        

राजपाकी पाण्डेले सफथ लिएपछि प्रदेशसभाले पायो पूर्णता

बुटवल । प्रदेश नं ५ को प्रदेशसभाले पूर्णता पाएको छ । प्रदेशसभामा राष्ट्रिय जनता पार्टी समानुपातिकतर्फकी प्रदेशसभा सदस्य कल्पना पाण्डेको झण्डै छ महिनापछि प्रदेशसभामा प्रवेशसँगै प्रदेशसभाले पूर्णता पाएको हो । उनले आइतबार प्रदेशसभा सदस्यको शपथ लिएका छन् ।
प्रदेशका मन्त्रीहरू, उपसभामुख, प्रमुख प्रतिपक्षी दलका नेता, सचेतकहरुको उपस्थितिमा प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले आइतबार प्रदेशसभा सचिवालयमा पाण्डेलाई शपथ गराएका हुन् । प्रदेश नं ५ मा ८७ जना सदस्यको व्यवस्था भए पनि राष्ट्रिय जनता पार्टीका एक सदस्यको पद खाली थियो ।
राजपाले यसअघि विन पन्तको नाम सिफारिस गरेको भए पनि विवाद भएपछि पन्तलाई राजीनामा दिन लगाएर राजपाले पाण्डेको नाम निर्वाचन आयोगमा सिफारिस गरेको थियो । निर्वाचन आयोगले पाण्डेलाई केही दिनअघि मात्रै निर्वा्चित भएको प्रमाणपत्र दिएको थियो । अर्घाखाँची छत्रदेव गाउँपालिकाकी पाण्डे राजपाको समानुपातिकतर्फ समावेशी कोटामा दोस्रो नम्बरमा थिइन् ।

प्रकाशित मिति : ३२ असार २०७५, सोमबार ०५:३९