सूचनाको शक्ति - The Power Of Information

        

शंखेकीरा नियन्त्रण अभियान : एउटै गाउँमा बाह्र क्विन्टल शंखेकीरा संकलन


सल्यान । सल्यानको एउटै गाउँमा १२ क्विन्टल शंखेकीरा संकलन गरिएको छ । जिल्लाको शारदा नगरपालिका–६ बरलामा एउटै गाउँमा १२ क्विन्टल चार किलो शंखेकीरा संकलन गरिएको हो ।
जाइन्ट अफ्रिकन स्नेल अर्थात् ठूलो आकारको शंखेकीराले किसानले लगाएको तरकारीबाली, धानबाली, मकैबाली आदिमा क्षति पु¥याउन थालेपछि स्थानीय सरकारको पहलमा बरलाको करीब २०देखि २५ हेक्टरमा रहेको शंखेकीरा नियन्त्रण गर्न शुरु गरिएको हो ।
एक किलो शंखेकीरा संकलन गरेबापत रु ५० दिएर कीरा संकलन गरिएको हो । शारदा नगरपालिकाको आर्थिक सहयोगमा संकलन गरिएको कीरामा आयोडिन नून छर्केर राखिएको छ । आयोडिन नूनले नै उक्त कीरा मर्ने भएकाले यस्तो गरिएको जिल्ला कृषि विकास कार्यालय सल्यानका वरिष्ठ कृषि विकास अधिकृत अम्मरराज घिमिरेले बताए ।
ठूलो आकारको शंखेकीरा नेपालमा पहिले नभएको तर पछिल्लो समय विभिन्न खानेपानीका योजनाअनुसार ठूला पाइपहरु विदेशबाट भित्र्याउँदा पाइपभित्र कीरा पसेर आएको हुन सक्ने घिमिरेले बताए । यो कीराले भोलिका दिनमा ठूलो क्षति गर्ने भएकाले यसलाई समयमै नष्ट गर्नुपर्ने उनको भनाइ छ ।
चिसो समयमा शंखेकीरा जमिनमुनि लुक्ने र गर्मी याममा बाहिर निस्कने गर्दछ । यो कीराले एक पटकमा एक हजार ६०० अण्डा पार्ने भएकाले व्यापक फैलने र यसले जुनसुकै अन्नबाली पनि उम्रनेबित्तिकै नष्ट गर्ने घिमिरेको भनाइ छ ।
यसरी जिल्लाका अन्य गाउँ ठाउँमा शंखेकीरा देखिएमा तत्काल सामूहिक रूपमा नष्ट गर्न पनि उनले अन्य किसानलाई आग्रह गरे । यो पटक उक्त १२ क्विन्टल कीरा समात्न र नष्ट गर्न लगायतको खर्च करीब रु ७० हजार जति लाग्ने सानपा–६ का वडाध्यक्ष भीकराज बुढाथोकीले बताए ।
कीरा मार्ने अभियान यो पहिलो चरणको भएकाले फेरि दोस्रो चरणमा पनि अभियान चलाउने अध्यक्ष बुढाथोकीले जानकारी दिए । संकलन गरेको कीरा सबै मरे पनि एक दुई दिनभित्र खाडल खनेर गाड्ने बुढाथोकीले जानकारी दिए । गत वर्षदेखि देखा परेको यो कीराले यो वर्ष किसानको बालीनालीमा धेरै क्षति पुर्याएको उनको भनाइ छ ।
आफूले बारीमा लगाएको करीब ६० हजार बराबरको तरकारी शंखेकीराले नष्ट गरिदिएको स्थानीय किसान भीमबहादुर बुढाथोकीले बताए । ‘कीरा मार्न अनेकौँ प्रयास गरियो तर सफल भइएन, यो कीराले कुनै पनि तरकारी बाली काट्न छोडेन । यतिमात्रै संकलन गरेर शंखेकीरा नष्ट हँुदैन यो अभियान चलाएर नष्ट गर्नुपर्छ,’ बुढाथोकीले भने ।

प्रकाशित मिति : ३१ असार २०७५, आइतवार ०९:४३