सूचनाको शक्ति - The Power Of Information

        

पश्चिमका केही स्थानमा दुई दिनसम्म भारी वर्षाको सम्भावना

काठमाडौं । अबको दुई दिनसम्म देशको पश्चिमी भेगका केही स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमान सम्बन्धी विज्ञप्ति जारी गर्दै आज र भोलि (आइतबार) देशको पश्चिमी तथा अन्य केही स्थानमा भारी वर्षाको सम्भावना औंल्याएको हो ।
आज दिउँसो देशभरि नै सामान्यतया बदली रही केही स्थानमा हल्कादेखि मध्यमखालको वर्षा र पश्चिमका केही स्थानमा भारी वर्षा हुनेछ । त्यसैगरी, राति पनि देशभर नै बदली रही केही स्थानमा हल्कादेखि मध्यमखालको वर्षा तथा कतिपय स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
भोलि (आइतबार) दिउँसोको समयमा देशभरि नै बदली रही देशको पश्चिमी भूभागका साथै मध्य र पूर्वी पहाडी भेगका केही स्थानमा हल्कादेखि मध्यमखालको वर्षाको सम्भावना छ भने मध्य र पूर्वी तराईका एक दुई स्थानमा हल्कादेखि मध्यमखालको वर्षाको सम्भावना रहेको छ ।
असार ३२ गते देशभरि नै बदली रही देशको मध्य र पश्चिमी भूभागका साथै पूर्वी पहाडी भेगका केही स्थानमा हल्कादेखि मध्यमखालको वर्षाको सम्भावना छ भने पूर्वी तराईका एक दुई स्थानमा हल्कादेखि मध्यमखालको वर्षाको सम्भावना छ ।
महाशाखाको पछिल्लो विवरणअनुसार आज ओखलढुङ्गामा ४६, ताप्लेजुङमा २६, पोखरामा १२, जुम्लामा ११, धनकुटामा छ, डडेल्धुरामा चार र दिपायलमा दुई मिलिमिटर वर्षा भएको छ । काठमाडौँमा १.२ मिलिमिटर वर्षा भएको छ ।
आज काठमाडौँको अधिकतम तापक्रम ३०.५ र न्यूनतम ताफक्रम २०.८ डिग्री सेल्सियस रहेको छ । महाशाखाले मनसुन सक्रिय भएसँगै करीब दुई सातादेखि दैनिकजसो मनसुन पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै आएको छ । मनसुनी वर्षा अझै केही दिन जारी रहने अनुमान गरिएको छ ।

प्रकाशित मिति : ३० असार २०७५, शनिबार ०७:०४