सूचनाको शक्ति - The Power Of Information

        

कर्णालीका ३०७ गाउँ असुरक्षित, कालिकोटमा सबैभन्दा बढी

काठमाडौं । माथिल्लो कर्णालीका चार जिल्लाका ३०७ वटा बस्ती असुरक्षित देखिएका छन् । कर्णाली विकास आयोगले गरेको अध्ययनमा हुम्लामा ७०, मुगुमा ४०, जुम्लामा ८९ र कालिकोटमा १०८ वटा बस्ती असुरक्षित भेटिएका हुन् । चार जिल्लामा १ हजार ४ गाउँ छन् ।
बाढी, पहिरो, हिमनदी, भिरालो जमिन बस्ती असुरक्षाका प्रमुख कारण हुन् । कतिपय बस्ती भने उत्पादनको कमीका कारणले पनि सार्नुपर्ने अवस्था छ । सिमकोट तल्लो गाउँ हवाईजहाजको आवतजावत तथा पहिरोका कारणले असुरक्षित छ । सबैभन्दा धेरै बस्ती पहिरोका कारणले असुरिक्षत देखिएको अध्ययनमा संलग्न डा. दीपेन्द्र रोकायले जानकारी दिए ।
जोखिमपूर्ण बस्तीलाई स्थानान्तरण गर्नु नै सुरक्षित गर्ने प्रमुख उपाय रहेको अध्ययनको निष्कर्ष छ । एकीकृत बस्ती विकासको योजना आवश्यक देखिएको कर्णाली विकास आयोगकी कार्यकारी निर्देशक पार्वती अर्यालले बताइन् । कर्णाली प्रदेश सरकारले पनि एकीकृत बस्तीको योजना भने ल्याएको छ । तर, विस्तृत छलफल भएको छैन । आयोगले तत्काल असुरक्षित बस्तीलाई स्थानान्तरण गर्न सकिने स्थानका पहिचान पनि गरेको छ ।
निजी क्षेत्रको पहल र सरकारी नीतिको नेतृत्वमा स्वायत्त मोडलका बस्ती विकास गर्नुपर्ने डा. रोकायको भनाइ छ । जोखिमपूर्ण वस्तीलाई सुरक्षित स्थानमा सार्ने भनिए पनि त्यसका लागि आर्थिक व्यवस्थापनबारे गम्भीर बहस भएको छैन । कर्णालीका ३०७ गाउँ स्थानान्तरण गर्नुपर्ने अवस्थामा एउटा गाउँ सार्न कति खर्च लाग्छ ? भन्नेमा अहिलेसम्म अध्ययन भएको छैन । आर्थिक पक्षमा अध्ययन नभएको आयोगकी कार्यकारी निर्देशक पार्वती अर्यालले बताइन् ।

प्रकाशित मिति : ३० असार २०७५, शनिबार ०१:५८