झापा । पूर्वी संस्कृतिको पारिवारिक रीत हो, बुहारीबाट सुखभोग गर्ने । अझ नेपाली समाज यसमा अभ्यस्त नै छ । बुहारीको बिहे ! सुन्दै अचम्म लाग्छ । बिहे त छोरीको हुनुपर्ने बुहारीको किन ? प्रश्नहरू तेर्सिन्छन् । तर यस्ता प्रश्न भन्दा पनि दुखी विधुवाबाट बुहारीलाई खुसी बेहुली बनेको देख्ने मनकारीहरू पनि समाजमा उदाउन थालेका छन् ।
झापा कन्काई–५ तुलसीबारीका धनपति पौडेल र टिकामाया पौडेलले आफ्ना छोरा स्व. प्रकाश पौडेलसँग पहिलो विवाह गरेर ल्याएकी बुहारी धनमाया (आशा) काफ्लेको आधुनिक शैलीमा विवाह गरिदिए । धनकुटामा व्यापारव्यवसाय गर्दै आएका लेखनाथ मिश्रसँग बुहारीको बिहे गरिदिएका हुन् । धनपति भन्छन्, ‘छोरी जसरी बिहे दान गरेर दिँदा खुसी छु । मनमा सन्तोष मिलेको छ ।’
बेहुला मिश्रकी पहिलो श्रीमति मुनाको करिब अढाई महिना अघि पाठेघरको क्यान्सरका कारण मृत्यु भएको हो । दुवैजना सहाराविहीन भएर बस्नुभन्दा विहे गरेर दुवैको पारिवारिक जीवन सुखयम बनाउने तरखरमा छन् । दुई महिनाअघि बुहारी अन्माएर बिदा गर्दा पूर्वशिक्षक श्याम गुप्ताको मुहारमा चमक देखियो । एक दशक छोरीसरह माया गरेकी बुहारी बिदा गर्दाको उदासी एकातिर, अर्कातिर एकल महिलालाई खुसी दिँदाको हर्षविभोरता थियो ।
१७ वैशाखमा गुप्ताले आफ्नी बुहारी किरणको बिहे गरिदिए । कपिलवस्तुको शिवराज नगरपालिका–५ का गुप्ताले बुहारीका लागि खुसीको ढोका मात्र खोलेका थिएनन् समुदायमा एउटा नयाँ सामाजिक क्रान्तिको पनि थालनी गरेका थिए । ‘छोराले अल्पायुमै छाडेर गयो । हाम्रो भरोसा टुट्यो । तर, किरणको त भविष्य नै अन्धकार देखेपछि हामीले उनको बिहे गरिदिने निधो ग¥यौं,’ उनले भने ।
२९ वर्षीय किरणको लगनगाँठो भारतको नौगढका डा. सुशान्तकुमार जयसवालसँग कसिदिएका गुप्ता भन्छन्, ‘हाम्रो समाजमा पत्नीको निधन हुनासाथ अर्को बिहे गर्ने पुरुष छन् । तर, पतिको निधन हुँदा पीडा खेप्ने महिलाको व्यथा कसले बुझ्ने ? यही बुझेर सल्लाहमा बिहे गरिदिएका हौं ।’ यी केही महिनाको अन्तरालमा भएका प्रतिनिधि घटना हुन् । सामाजिक बन्देज र सोचलाई छिचोल्दै उमेर भएकी बुहारीलाई पीडित बनाएर घरमा राख्नुभन्दा खुसी र सुखी जीवनको बाटो देखाउने सासुससुरा बढ्न थालेका छन् ।
‘सबैको चाहना बुझ्न सक्नुु नै मानवीयता हो जस्तो लाग्छ, त्यसैले बुहारी भन्दैमा उसका हर पीडालाई बाध्यता बनाएर राख्नु उचित ठानिएन,’ पौडेल थप्छन्, ‘धेरै सोचविचार गरेरै निर्णयमा पुगेका हौं ।’ लाऊँ लाऊँ खाऊँ खाऊँ भन्ने उमेर बाँकी हुँदा कतिपय ठाउँमा विधुवा अवस्थामा रहेका बुहारीले समाजको परिधिको ख्याल गरेर चाहनाको बलिदान गरिरहेका बेला यस्ता बिहे उदाहरण हुन् । एकबारको जीवनमा सुखभोग गर्ने अधिकार सबैलाई रहेका कारण एकल महिलाको बिहे गरिदिनु राम्रो काम भएको अधिकारकर्मी बताउँछन् ।
‘साथ साथ बाँच्ने आधार बनाउनपर्छ, त्यसकारण बुहारीले पनि सुख पाओस् भन्ने सोच पलायो,’ गुप्ता थप्छन्, ‘सीमित घेरामा राखेर महिलालाई अधिकार र रहरबाट बञ्चित गर्नु उचित होइन ।’ एक्लो जीवन बाँच्न कठिन हुन्छ भन्ने महशुस गर्नेहरूले जीवन साथी जुनसुकै उमेरमा पनि रोज्ने गरेका छन् । जसरी अहिले हरिवंश आचार्य र रमिला, मिथिला शर्मा र मोतिलाल बोहरा जीवनका उत्तरार्धमा नै जोडिएका छन् । त्यसरी नै समाजमा एकल भएर बस्नेहरूले पनि साथ पाउनुपर्ने मान्यता स्थापित हुन थालेको छ । रासस
।