सूचनाको शक्ति - The Power Of Information

        

औद्योगिक क्षेत्रको कामले गति पायो, विस्तृत प्रतिवेदनको काम अन्तिम चरणमा


शेरबहादुर सिंह । भीमदत्तनगर । प्रदेश नं ७ अन्तर्गत कञ्चनपुरको बेदकोट नगरपालिकामा स्थापना हुने दैजी छेला औद्योगिक क्षेत्र निर्माणको कामले गति पाएको छ । लामो समयदेखि थाती रहेको औद्योगिक क्षेत्र निर्माणका लागि स्थानीय तह नेतृत्वले सक्रियता देखाएपछि कामले गति पाएको हो । यहाँको निजी क्षेत्रले सरकारलाई स्थापनाका लागि दबाब दिँदै आएको छ ।
स्थानीय तहको निर्वाचनपछि प्रस्तावित औद्योगिक क्षेत्र निर्माणस्थलमा धेरैपटक सर्वेदेखि पछिल्लो समय सम्बन्धित मन्त्रीसमेतले अनुगमन गरेका छन् । औद्योगिक क्षेत्र स्थापनाको काम तत्काल अगाडि बढाउन खटिएका बेदकोट नगरपालिकाका नगरप्रमुख अशोककुमार चन्दले औद्योगिक क्षेत्र निर्माणको काम अघि बढेको जानकारी दिए ।
‘विभिन्न मन्त्रालयमा स्वीकृत लिनेदेखि प्रक्रिया मिलानका काम सबै सकिएर व्यवसायीसँग उद्योग स्थापनाका लागि आग्रह गरिएको छ,’ नगर प्रमुख चन्दले भने, ‘औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड पनि निकै अग्रसर भएको छ ।’ व्यापारी व्यवसायीलाई उद्योगको किसिमसहित आगामी साउन १७ गतेभित्र आवेदन फारम बुझाउन आग्रह गरिएको नगरप्रमुख चन्दको भनाइ छ ।
उद्योग स्थापनाका लागि सूचना जारी भइसकेको जानकारी दिँदै उनले वातावरणीय प्रभाव मूल्याङ्कन र औद्योगिक क्षेत्रको विस्तृत प्रतिवेदनको काम अन्तिम चरणमा रहेको बताए । ‘दुवै रिपोर्टको काम सकिनै लाग्यो,’ चन्दले भने, ‘काम सकिएपछि रिपोर्ट उद्योग मन्त्रालयमा पेश गरिनेछ ।’ उनले औद्योगिक क्षेत्र स्थापनाको काम अब दु्रत गतिमा अघि बढ्ने बताए ।
औद्योगिक क्षेत्र स्थापनाको काम लामो समय वन तथा वातावरण मन्त्रालयमा अड्किएको थियो । एक साताअघि मन्त्रालयले औद्योगिक क्षेत्र स्थापनाका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका नाममा २९३ बिघा जग्गा दर्ता गरी वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन गर्न सहमतिसमेत दिएको थियो । उक्त कार्यका लागि गत असार १५ गते वन तथा वातावरण मन्त्रालयमा मन्त्रिस्तरीय निर्णयबाट सहमति प्रदान गरिएको थियो ।
बेदकोट नगरपालिकामा रहेको दैजी छेला औद्योगिक क्षेत्र निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) निर्माणसमेत भइसकेको छ । विसं २०५२ मा जिल्ला वन समन्वय समिति र साविकको दैजी गाविसको निर्णयबमोजिम दैजीका वडा नं ५ र ६ हाल बेतकोट नगरपालिकाको वडा नं २ र ३ को छेला आसपासको क्षेत्रमा औद्योगिक क्षेत्र स्थापना हुनेछ ।
विसं २०५६ असारमा जिल्ला वन समन्वय समितिले छेलामा स्थापना हुने औद्योगिक क्षेत्रलाई आवश्यक जमीन उपलब्ध गराउने सहमति गरेको थियो । छेला औद्योगिक क्षेत्रका लागि २०७१ पुसमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले पूर्व सम्भाव्यता अध्ययन गरेको थियो । दैजी छेला औद्योगिक क्षेत्रभित्र खाद्य, वन तथा कृषि, धातु, प्लाष्टिक, इन्जिनियरिङ र फेब्रिकेटिङ, मिनरल वाटर, कागज, सिमेन्ट, छडलगायतका १०० वटा उद्योग स्थापना गर्न सकिने छ । रासस

प्रकाशित मिति : २९ असार २०७५, शुक्रबार १०:५०