सूचनाको शक्ति - The Power Of Information

        

सार्वजनिक शिक्षामा लगानी र अनुगमन बढाउन जोड


धनगढी । सार्वजनिक शिक्षालाई विश्वसनीय र गुणस्तरीय बनाउनका लागि स्थानीय निकायले लगानी र अनुगमन बढाउनु पर्नेमा जोड दिइएको छ । मंगलबारबाट धनगढीमा सुरु भएको पश्चिम क्षेत्रीय सार्वजनिक शिक्षा सम्मेलनमा शिक्षालाई स्थानीय निकायले निर्माण गर्ने योजनाको प्राथमिकतामा समेत राख्नु पर्नेमा जोड दिइएको हो । सम्मेलनमा बोल्दै धनगढी उपमहानगरपालिकाका प्रमुख नृप वडले शिक्षा विकासको मेरुदण्ड भएकाले कैलालीका सबै स्थानीय निकायहरुले शिक्षालाई आफ्नो याजनाको प्राथमिकतामा राखेको बताए ।
देशमा रहेको नीजि र सार्वजनिकशिक्षा प्रणालीले विभेद श्रृजना गरेको छ, प्रमुख वडले सम्मेलनको उद्घाटन सत्रमा भने, ‘यस्तो विभेदलाई हटाउनका लागि सार्वजनिक शिक्षालाई बलियो बनाउनु अत्यन्त जरुरी छ र यसका लागि हामीले काम सुरु गरिसकेका छौं ।’ एक्सनएड नेपाल, फाया नेपाल र सम विकास केन्द्र नेपालले आयोजना गरेको सम्मेलनमा बोल्दै घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीले नगर योजनामा शिक्षा विकासको लागि ३ करोड २२ लाख छुट्याएको जानकारी दिए ।
‘शिक्षालाई हामीले प्राथमिकतामा राखेर बजेटसमेत विनियोजन गरेका छौं,’ उनले भने, ‘विद्यालयको अनुगमनलाई समेत चुस्त बनाएका छौं ।’ कैलालीका जिल्ला शिक्षा अधिकारी गणेशबहादुर सिंहले सार्वजनिक शिक्षामा समस्या रहेको बताउँदै साझा प्रयासबाट यसलाई परिवर्तन गर्न सकिनेमा जोड दिए । एक्सनएड नेपालका पश्चिमाञ्चल श्रोत केन्द्र संयोजक सरोज पोख्रेलले गरिब जनताका छोराछोरी पढ्ने सार्वजनिक विद्यालयको सुदृढिकरणका लागि राज्यले शिक्षाको गुणस्तर सुधारका लागि लगानी बढाउनुपर्ने बताए ।
सम्मेलनमा पश्चिम नेपालका दश जिल्लाका स्थानीय निकायका प्रतिनिधि, शिक्षक, विद्यार्थी तथा अभिभावकहरुको सहभागीता रहेको छ । सम्मेलनमा सार्वजनिक शिक्षा बलियो बनाउन स्थानीय निकाय, अभिभावक तथा सामाजिक संघसंस्थाहरुको भूमिकाको बारेमा छलफल चल्ने फाया नेपालका अध्यक्ष शेरबहादुर बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : २२ कार्तिक २०७४, बुधबार ०६:३०