सूचनाको शक्ति - The Power Of Information

        

अर्धभूमिगत कम्युनिष्ट नेता नेपालगन्जमा, भन्छन्, ‘कम्युनिष्टहरु एक ठाउँमा आउनुपर्छ’


बाँके । अर्धभूमिगत कम्युनिष्ट नेता एवं नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह नेपालगन्ज आइपुगेका छन् । आजदेखि नेपालगन्जमा हुने थालेको कार्लमाक्र्स जन्म द्विशतवार्षिकी समारोहमा सहभागी हुन उनी बिहीबार नेपालगन्ज आइपुगेका हुन् ।
नेपालगन्ज आइपुगेका महामन्त्री सिंहले नेपालका कम्युनिष्टहरु एकजुट हुनुपर्ने बताएका छन् । महामन्त्री सिंहले मिल्न सक्ने जति मिल्ने र विचार तथा सैद्धान्तिक मतभेद भएकाहरुका बीचमा मोर्चा बनाएर अघि बढ्नु पर्ने बताए । नेकपाका नेताहरु देवराज भार, दलबहादुर सुनार, आइपी खरेल, महेश्वर गहतराज, निरक गुरुङ, प्रकाश सुवेदीसँग भेटघाट गर्दै सिंहले त्यस्तो बताएका हुन् ।


नेकपासँग एकताको प्रसंगमा सिंहले एकता केन्द्र र मसालको एकताको उदाहरण दिँदै विचार र सिद्धान्तमा घोतलिएर मात्रै एकता गर्ने प्रतिक्रिया दिए । मोहन बैद्य, विप्लव र मसालका बीचमा एकता हुन थालेको सन्दर्भमा सिंहले उनीहरु पहिला एकता भन्ने र आफूले पहिला सिद्धान्तको कुरा गर्दा हुन नसकेको बताए । उनले आफूहरु संघीयता विरोधी रहेको बताए ।
नेकपाले आयोजना गरेको दुई दिने कार्लमाक्र्स द्विशतवार्षिकी प्रदेशिक गोष्ठीलाई सिंहसँगै प्रचण्ड, झलनाथ खनाल, गणेश शाह, घनश्याम भूसाल, राम कार्की र चिन्तक प्रदीप गिरीले प्रशिक्षण दिने समारोहका प्रदेश संयोजक ठाकुर गैरेले जानकारी दिए । संयोजक गैरेका अनुसार, ५ नम्बर प्रदेशका १२ जिल्लाका एक हजार जना गोष्ठीमा सहभागी हुनेछन् । गैरेले यस्ता कार्यक्रमबाट प्रशिक्षक तयार पारेर गाउँगाउँमा प्रशिक्षण दिने जानकारी दिए ।

प्रकाशित मिति : २२ असार २०७५, शुक्रबार ०४:१०