सूचनाको शक्ति - The Power Of Information

        

शिक्षक महासंघले आजदेखि राजधानी केन्द्रीत आन्दोलन थाल्दै

नेपाल शिक्षक महासंघले आजदेखि काठमाडौंंमा आन्दोलन शुरु गर्ने भएको छ ।

शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै महासंघले काठमाडौं केन्द्रित सडक आन्दोलन गर्न लागेको हो । महासंघले आन्दोलनमा सहभागी हुन आज बिहान ११ बजे माइतीघर मण्डला सहभागी हुन शिक्षकहरूलाई आग्रह गरेको छ ।

त्यसका देशका सवै जिल्लाहरुबाट शिक्षकहरु काठमाडौं आईपुग्दै छन् । जिल्ला जिल्लाबाट गाडी रिजर्भ गरेर शिक्षकहरु राजधानी आएका छन् ।

शिक्षकहरु आन्दोलनतर्फ लागेपछि देशका अधिकांश विद्यालयहरुमा पठनपाठन प्रभावित हुने देखिएको छ । महासंघले शिक्षा विधेयकप्रति १८ बुँदे असहमति राखेको छ ।

सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिका अन्तर्गत नबस्ने लगायतका असहमति उनीहरुका छन् । सरकारले शिक्षकहरुलाई वार्ताबाट समस्या समाधान गर्न आग्रह गरेको छ ।

तर शिक्षा मन्त्रालयले गर्ने वार्ताबाट समस्या समाधान नहुने शिक्षक महासंघको अडान छ । महासंघका अध्यक्ष कमला तुलाधार र महासचिव लक्ष्मीकिशोर सुवेदीले विज्ञप्ति जारी गर्दै आन्दोलन नरोकिने बताएका छन् ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार ०८:४१