सूचनाको शक्ति - The Power Of Information

        

असुरक्षित बन्दै डोटीका सडक


रामहरि ओझा/डोटी । शनिबार डोटीको केआई सिंह गाउपालिका–१ तिखात्तरबाट दिपायल गइरहेको से १ ज २६५ नम्बरको बलेरो जीप सोही गाउपालिका–३ वासुदेवीको देउरडीमा दुर्घटना हुँदा चार जनाले ज्यान गुमाए । दुर्घटनामा ३ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भयो । दुर्घटनामा परी गम्भीर घाइते भएका थप दुई जनाको अवस्था अझैसम्म पनि गम्भीर छ ।
दुर्घटनाको अनुसन्धानका लागि घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले सडकको अवस्था नाजुक भएको र मोड काट्ने ठाउँ नपुग्दा गाडी सडकबाट तल खसेको बताएका छन् । चुनावी अभियानका क्रममा डोटीमै रहेका भौतिक, योजना तथा निर्माण मन्त्री वीरबहादुर बलायर दुर्घटना लगत्तै घटनास्थल पुगे । उनले पनि सडकको अवस्था राम्रो नभएको प्रतिक्रिया दिए । उनीजस्तै एमाले वैकल्पिक केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका प्रत्यक्षतर्फका उम्मेदवार प्रेमबहादुर आलेमगरलगायत चुनावी दौडमा रहेका अन्य नेताहरु पनि पुगे ।
बाटोकै कारण दुर्घटना बढेको निष्कर्ष अवलोकनका लागि पुगेका सबैको छ । डोटीका ग्रामीण कच्ची सडकमा भएको दुर्घटना यो पहिलो होइन । साउनयता मात्रै दुई अन्य दुर्घटनामा १२ जनाले ज्यान गुमाईसकेका छन । तर ती दुवै दुर्घटनाका क्रममा न मन्त्री घटनास्थल पुगे न अन्य नेताहरु नै । साउन २० गते राति बोगटान गाउँपालिका–६ गगुडामा शैलेश्वरी यातायातको से १ ज ४९१ नम्बरको जीप दुर्घटना हुँदा नौ जनाको घटनास्थलमै ज्यान गएको थियो । दुर्घटनामा गम्भीर घाईते भएका चार जना अझै उपचाररत छन् । हिन्दूहरुको दास्रो ठूलो चाड तिहारको रमझममा भएका बेला डोटीका ग्रामीण कच्ची सडकमा एक अर्को दुर्घटना भएको खवरले सबैलाई झस्कायो ।
उल्लासमय वातावरणमा तिहार मनाउने योजनासहित किनमेलका लागि बजार गएका आफन्तहरु कात्रो किनेर फर्कनु पर्ने अवस्था आयो । बडीकेदार गाउँपालिका–२ खड्यौलीमा यात्रुवाहक बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो । सुदूरपश्चिम यातायातको ना ३ ख ५६४८ नम्बरको बस दुर्घटना हँुदा घाइते भएका १८ मध्ये ४ जना भारतको बरेलीमा उपचाररत छन् । गाउँ–गाउँमा विस्तार गरिएका असुरक्षित सडकका कारण धमाधम यात्रुहरुको ज्यान गइरहेको छ । राजनीतिक पहुँचका आधारमा स्थानीय तह र केन्द्रबाट पावर बजेट ल्याउने, नाम मात्रको उपभोक्ता समिति गठन गर्ने र कुनै प्रकारको सम्भाव्यता अध्ययन, इष्टिमेट र प्रभाव मुल्याङ्कन नगरी काटिएका सडकहरु यात्रुहरुलाई मृत्युतिर लगिरहेको स्थानीयहरुको आरोप छ ।
मेसिनको प्रयोग गर्ने र मेसिन चालकले जता सजिलो देख्यो उतै उतै बाटो लैजाने गरेका कारण सडकको स्तर खस्किएको छ । एकातिर सडकको दुरावस्था अर्को्तिर क्षमताभन्दा बढी यात्रु दुर्घटना निम्त्याउने प्रमुख कारण बनेका छन । ‘क्षमता भन्दा बढी यात्रुहरु नहाल्नु भनेर पटक–पटक चालक र सवारीधनीहरुलाई आग्रह गरेका छौं’ ग्रामीण कच्ची सडकमा यातायत सेवा सञ्चालन गरिरहेको शैलेश्वरी सार्वजनिक यातायत व्यवसायी समितिका अध्यक्ष गणेश मलासी भन्छन्, ‘जतिभन्दा पनि चालकहरु मान्दैनन् ।’ नागरिक समाजका अगुवा एवं अधिवक्ता गोबिन्द जोशी भन्छन्, ‘ग्रामीण सडकहरु तोकिएको मापदण्ड पूरा नगरी काटिएका र पाँच जना यात्रु मात्रै बोक्ने अनुमति पाएका जीपले धेरै संख्यामा यात्रु बोक्दा यस्ता घटना हुने गरेका छन् ।’ पटक–पटक दुर्घटना हुँदा पनि सम्बन्धित पक्षले कुनै चासो नदेखाउनु दुर्भाग्यपूर्ण छ । चुनावको बेला भएको दुर्घटनामा पुग्ने राजनीतिक दलका नेताले चुनावपछि सडक सुरक्षाबारे उदासीनता देखाउने गरेका छन् ।

प्रकाशित मिति : २२ कार्तिक २०७४, बुधबार ०६:१३