सूचनाको शक्ति - The Power Of Information

        

नेपाली आयोजनामा मासिक ५० हजारसम्म कमाउँदै युवा



बाँके । भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनामा काम गर्ने नेपाली युवाहरुले आकर्षक तलबमा रोजगारी प्राप्त गरिरहेका छन् । आयोजनाका अनुसार बर्दिया, बाँके, सुर्खेत, जाजरकोट, अछाम लगायतका जिल्लाका युवा आयोजनामा काम गरिरहेका छन् । नेपाली कामदारहरुले मासिक १६ हजारदेखि ५० हजार रुपैयाँसम्म कमाउँदै आएका छन् । उनीहरूले आयोजनाको सुरुङ पाइपका उद्योग र सुरुङ निर्माण लगायतमा काम गरिरहेका हुन् । आयोजनामा बिहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म र दिउँसो २ बजेदेखि बेलुका ६ बजेसम्म आयोजनाको काम सञ्चालन हुने गरेको छ ।
आयोजनामा ५०० नेपालीहरुले काम गरिरहेको आयोजना निर्माणको ठेक्का पाएको चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप (कोभेक) का प्रशासकीय प्रमुख ली छाङयोङले बताए । आयोजनाका अनुसार कामदारहरुका लागि खान, बस्नको निःशुल्क व्यवस्था गरिएको छ । विदेश गएर दुःख पाउनुभन्दा राष्ट्रिय आयोजनाहरुमा काम गर्दा फाइदा भएको आयोजनामा काम गरिरहेका कामदारहरुको भनाइ छ । मासिक १६ हजारदेखि ५० हजारसम्म तलब र ओभर टाइम गर्दा विदेशभन्दा नेपालमै बढी कमाइ हुने गरेको कामदारहरुको अनुभव छ । भेरी बबई आयोजनाबाहेक जिल्लामै सञ्चालित तथा जिल्लाबाहिर सञ्चालित सिँचाइ आयोजना, सडक निर्माण लगायतका निर्माणसम्बन्धी काममा सयौँ युवाले आफ्नो सिप र क्षमतालाई प्रयोग गरिरहेका छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०७४, मंगलवार ०९:३२