खाद्य तथा कृषि सङ्गठन (एफएओ)ले प्रमुख निर्यातकर्ता भारतले केही धान विदेश निर्यातमा प्रतिबन्ध लगाएपछि अगष्ट महिनामा चामलको मूल्य विश्वव्यापी १५ वर्षयताकै उच्च बिन्दुमा पुगेको जनाएको छ । विश्वव्यापी खाद्य पदार्थको मूल्यमा कमी आए पनि अगष्टमा चामलको मूल्य अघिल्लो महिनाको तुलनामा ९.८ प्रतिशतले बढेको एएफओले जनाएको हो ।
एफएओले मासिक प्रतिवेदनमा भनेको छ, ‘अगस्टमा विश्वव्यापी खाद्य पदार्थको मूल्यमा कमी आए पनि चामलको मूल्य अघिल्लो महिनाको तुलनामा ९.८ प्रतिशतले बढेको छ । यसले भारतले इन्डिका सेतो चामलको निर्यातमा प्रतिबन्ध लगाएपछि व्यापारमा आएको अवरोधलाई प्रतिबिम्बित गर्दछ ।’
प्रतिबन्धको अवधिबारे अनिश्चितता र निर्यात प्रतिबन्धहरूको चिन्ताको कारण आपूर्ति–श्रृङ्खलामा असर परेको जनाइएको छ । कोभिड महामारी, युक्रेनमा जारी युद्ध र एल निनो मौसमी घटनाले उत्पादनको स्तरमा पारेको प्रभावका कारण अन्तर्राष्ट्रिय बजारमा चामलको मूल्य बढेको हो ।
भारतले जुलाईमा गैर–बासमती सेतो चामलको निर्यातमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । भारतले गैर–बासमती सेतो चामलको कूल उत्पादनमध्ये लगभग एक चौथाई उत्पादन गर्छ । विश्वको कुल चामल ढुवानीमा ४० प्रतिशतभन्दा बढी हिस्सा भारतले ओगटेको छ ।
तथ्याङ्क मुल्याङ्कन फर्म ग्रो इन्टेलिजेन्सले जुलाईमा प्रतिबन्धले अफ्रिकी देशहरू टर्की, सिरिया र पाकिस्तानलाई असर गर्ने चेतावनी दिएको थियो । यी सबै राष्ट्रहरू पहिले नै उच्च मुद्रास्फीतिसँग संघर्ष गरिरहेका थिए । विश्वको सबैभन्दा ठूलो चामल आयातकर्तामध्येको एक फिलिपिन्सले बिहीबार भियतनामसँग चामल खरिदका लागि पाँच वर्षे सम्झौता गरेको छ ।
सत्यपाटी संवाददाता । काठमाडौं