सूचनाको शक्ति - The Power Of Information

        

पूर्वप्रधानमन्त्री ओलीमाथि प्रश्न

झापाको गिरिबन्धु टि–स्टेट कम्पनीको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि प्रश्न उठेको छ ।

सो काण्डमा ओलीको संलग्नता रहे पनि सरकारले छानबिनको दायरामा ल्याउन नसकेको भन्दै सांसदहरूले पटकपटक कुरा उठाउँदै आएका थिए । सोही विषयमा मंगलबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समेत छलफल भएको छ ।

बैठकमा नेपाली कांग्रेसका सांसद हृदयराम थानीले भ्रष्टाचारका विभिन्न प्रकरण आएको बताउँदै गिरीबन्धु टि–स्टेट प्रकरणबारे छानबिन अघि बढाउनुपर्ने बताउनुभयो । राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले भ्रष्टाचारसम्बन्धी जुनसुकै प्रकरणमा समितिमा छलफल र आवश्यक निर्देशन हुनुपर्ने बताउनुभयो ।

झापाको बिर्तामोडमा रहेको महँगो जग्गा सट्टापट्टा गरी ‘प्लटिङ’ गरेर बेच्ने तयारी गरिएको गिरीबन्धु ‘टि–स्टेट’ प्रालिको विषयमा छानबिन हुनुपर्ने सोही समितिका सभापति रामहरि खतिवडाले सोमबारको संसद् बैठकमा बताउनुभएको थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला ऐन संशोधन गरेर जग्गा बेच्ने तयारी गरेको भन्दै उक्त विषयमा सर्वत्र टिप्पणी हुन थालेको छ ।

स्रोत : नेपाल समाचारपत्र
प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार ०८:०५