सूचनाको शक्ति - The Power Of Information

        

वार्षिक ५ लाख नयाँ युवा रोजगारीको खोजीमा, आन्तरिक बजारमा श्रमिकको अभाव


काठमाडौं । नेपालको आन्तरिक श्रम बजारमा वार्षिक ५ लाख युवा जनशक्ति रोजगारीको खोजीमा श्रम बजारमा भित्रिने गरेका छन् । यसरी रोजगारीको खोजीमा श्रम बजारमा प्रवेश गरेका ५० देखि ८० हजार युवाले मात्र देशभित्र काम गर्न अवसर पाउने गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
ति बाहेक निकै कम मात्र युवा जनशक्ति व्यवसायी र कृषि पेशामा संग्लन हुन्छन् । अन्य रोजगारीको खोजिमा श्रम बजारमा आएका युवाले विकल्पमा वैदेशिक रोजगारीको बाटो रोज्न बाध्य हुने गरेको मन्त्रालयको भनाइ छ । नेपालबाट नयाँ श्रम स्वीकृति लिएर वार्षिक करिब ४ लाख युवा विदेशिने गरेको सरकारी तंथ्याक छ ।
यसरी विदेशिनेमा प्रायः रोजगारीको खोजीमा आएका नयाँ श्रमशक्ति नै हुने गरेको मन्त्रालयको अनुमान छ । मन्त्रालयले श्रम बजारमा भित्रिने नयाँ श्रम शक्ति र देशभर आन्तरिक श्रम बजारमा काम गरिरहेका श्रमिकको तथ्यांक संकलन गर्ने काम गरिरहेको मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले जानकारी दिए ।
राज्यले वैदेशिक रोजगारीको विकल्पमा आन्तरिक श्रम बजारमा युवालाई आकर्षण गराउने विशेष योजना तथा कार्यक्रम ल्याउने तयारी गरिरहेको सहसचिव घिमिरेले बताए । ‘रोजगारीबाट फर्किएका युवाले अब विदेशमा सिकेको सिप आफ्नै देशमा सदुपयोग गर्नुपर्छ । राज्यले वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उद्योग, व्यवसाय चलाउन र उद्यमी बनाउनका लागि आर्थिक सहुलियत उपलब्ध गराउने तथा विशेष कार्यक्रम प्राथमिकतामा राखेर काम गरिरहेको छ,’ सहसचिव घिमिरेले भने ।
सरकारले आर्थिक वर्ष २०७५/०७६ मा १ लाख ५० हजार युवालाई आन्तरिक श्रम बजारमा रोजगारी दिलाउने लक्ष्य लिएको उनले बताए । तर, कुनकुन क्षेत्रमा रोजगारी दिलाउने भनेर मन्त्रालयले खुलाएको छैन । वार्षिक करिब ५० हजारभन्दा बढी युवाले आन्तरिक श्रम बजारमा अहिले रोजगारी पाइरहेका र यसलाई तीन गुणा बढाउने योजना मन्त्रालयसँग रहेको सहसचिव घिमिरेले दावी गरे ।
केही वर्षदेखि नेपालमा उद्योग व्यवसाय खोल्ने क्रम बढ्दै गएको छ । यसरी खोलिएका उद्योग व्यवसायमा नयाँ जनशाक्ति खपत हुने सरकारले विश्वास लिएको श्रम मन्त्रालयको भनाइ छ । सरकारले यो भन्दा आगाडि सरकारी कार्यालयमा भन्दा अन्य क्षेत्रमा काम गर्ने श्रमिक तथा कामदारको तथ्यांक संकलन गरेको थिएन ।

वार्षिक ३० प्रतिशत नयाँ महिला काम खोज्दै श्रम बजारमा
सहसचिव घिमिरेका अनुसार कुल श्रमशक्तिको वार्षिक ३० प्रतिशत महिला रोजगारीको खोजीमा आन्तरिक श्रम बजारमा प्रवेश गर्ने गरेका छज् । राष्ट्रिय योजना आयोगले गत वर्ष गरेको एक सर्वेक्षणमा वार्षिक ९० हजारदेखि १ लाखसम्म नयाँ महिला रोजगारीको खोजीमा आन्तरिक श्रम बजारमा आउने गरेका जनाइएको छ ।
जसमा १० हजारसम्मले मात्र आन्तरिक श्रम बजारमा काम गर्ने अवसर पाइरहेका छन् । यो संख्या पनि वार्षिक दुई गुणा बढाउने तयारीका साथ काम भइरहेको उनको भनाइ छ । आन्तरिक श्रम बजारमा पुरुषले भन्दा महिलाले धेरै रोजगारीका अवसर पाउने गरेका महालेखा परीक्षक कार्यालयको प्रतिवदेनमा उल्लेख गरिएको छ ।
काम गर्न उमेर पुगेका पुरुष युवा वैदेशिक रोजगारीमा जाने गरेका कारण पनि आन्तरिक श्रम बजारमा महिलाले काम गर्ने अवसर पाउने गरेका कार्यालयले जनाएको छ । सरकारले पछिल्लो समय आन्तरिक श्रम बजारमा के–कति श्रमिकले काम गरिरहेका छन् भनेर तथ्यांक संकलन गर्ने र आन्तरिक श्रम बजारको अध्ययन गर्ने काम गरिरहेको मन्त्रालयले जनाएको छ ।
श्रम मन्त्रालयले देशभित्र विदेशी कामदार बाहेक करिब ३१ लाखभन्दा बढी नेपाली श्रमिक कार्यरत रहेको अनुमान गरेको छ । यो तंथ्याकमा सवै क्षेत्रमा काम गर्ने श्रमिक समेटिने मन्त्रालयले स्पष्ट पारेको छ ।

आन्तरिक बजारमा श्रमिकको अभाव
दुई महिनाअघि महालेखा परीक्षक कार्यालयले सार्वजानिक गरेको एक प्रतिवेदनमा वैदेशिक रोजगारीमा जानेको संख्या उच्च रहेकाले उद्योग, कलकारखाना खोलियो भने पनि काम गर्ने श्रमिकको अभाव हुनेगरेको औंल्याएको छ । वैदेशिक रोजगारीका कारण धेरै सञ्चालनमा आएका उद्योग र व्यवसाय बन्द गर्नुपर्ने अवस्थामा पुगेको जनाइएको छ ।
उक्त प्रतिवेदनमा उद्योग, कलकारखानामा आवश्यक पर्ने कामदार भारत लगायतका देशबाट ल्याउनुपरेको पनि उल्लेख छ । सरकारले आगामी ५ वर्ष्भित्र बाध्यकारी वैदेशिक रोजगारीको अन्त्य गर्दै त्यसको विकल्पमा आन्तरिक श्रम बजारमा युवालाई व्यवस्थापन गर्ने योजना लिएको छ ।
श्रम मन्त्रालयले पर्यटन, कृषि, उद्योग, जलविद्युत आयोजना, स्थानीयस्तरका उद्योगलाई प्रवर्धन गर्दै वैदेशिक रोजगारीको विकल्प खोजिनेगरी काम भइरहेको जनाएको छ । नेपालमा अर्ध बेरोजगार ३० प्रतिशत र पूर्ण बेरोजगार २५ प्रतिशत रहेको मन्त्रालयको एक अध्यननमा उल्लेख गरिएको छ । अर्ध बेरोजगार युवाले राम्रो रोजगारीको अवसर पाएमा तत्काल विदेशिन सक्ने मन्त्रालयकै अनुमान छ ।
यस्ता युवा प्रायः काम छोडेर अथवा अध्ययन सकेर रोजगारीको खोजीमा बसेका हुन्छन् । सरकारले तत्काल वैदेशिक रोजगारीको विकल्पभन्दा आन्तरिक रोजगारीका सम्भावनाको खोजी गर्नुपर्ने श्रम विज्ञ दिपेन्द्र थापा बताउँछन् । गएको केही वर्षदेखि नेपाली युवा आन्तरिक श्रम बजारमा भन्दा बाह्य श्रम बजारमा रमाउने बानी परेकाले सरकारले सजिलोसँग वैदेशिक रोजगारीको अन्त्य गर्न नसक्ने थापा दाबी गर्छन् ।
‘राज्यले आन्तारिक श्रम बजारको अध्ययन नगरि युवा विदेश पलायन रोक्न सक्दैन,’ थापा भन्छन्, ‘सरकारले आन्तरिक श्रम बजारमा आकर्षक तलबसहित श्रमिकलाई तत्काल व्यवस्थापन गर्नसक्ने अवस्था पनि देखिँदैन ।’ गएको ३ दशकमा ४७ लाखभन्दा बढी युवा वैदेशिक रोजगारीका लागि गएको तथ्यांक छ ।
उनीहरुमध्ये धेरै जना राम्रो सिप सिकेर फर्किए पनि राज्यले त्यस्ता श्रमिकको व्यवस्थापन गर्न ध्यान नदिँदा पुनः विदेशिने गरेको पाइन्छ । अहिले पनि विदेशी श्रम बजारमा ३० लाख भन्दा बढी युवा कार्यरत रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २० असार २०७५, बुधबार ०१:४७