स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहन बस्नेतले भेरी अस्पताल स्तरोन्तिका लागि मन्त्रालय सधैँ तयार रहेको बताए । आज भेरी अस्पताल अवलोकनका क्रममा उनले यस अस्पताललाई अझै व्यवस्थित गराउन मन्त्रालयले आवश्यक बजेट छुट्याउने बताए ।
मन्त्री बस्नेतले भने, ‘मन्त्रालयले यो अस्पतालको आन्तरिक र बाह्य दुवै पक्ष व्यवस्थापनका लागि धेरै शीर्षकमा बजेट पठाएको छ । अझैंँ व्यवस्थित हुन बाँकी नै भएको हुनाले अस्पताल व्यवस्थापनका लागि आवश्यक बजेट पठाउन मन्त्रालय तयार छ ।’
अस्पतालको फोहर व्यवस्थापनमा विशेष ध्यान दिन व्यवस्थापन समितिलाई निर्देशन दिँदै उनले एउटै व्यक्तिले लामो समयसम्म एकै ठाउँमा बसेर सेवा दिन नसक्ने भएकाले त्यस्ता व्यक्तिलाई अन्यत्र सरुवाको प्रक्रिया अघि बढाउन पनि निर्देशन दिए ।
मन्त्री बस्नेतले भने, ‘एउटै व्यक्ति १५, १६ वर्षदेखि एकै ठाउँमा बसेर काम गरिरहेको पाइएको छ । यो विषयमा व्यवस्थापन समितिलाई सचेत भएर सरुवाको प्रक्रिया अघि बढाउन म आग्रह गर्दछु ।’
गरिब तथा विपन्न परिवारका बिरामीले सहज र सुलभ रुपमा अस्पतालमा उपचार पाउनुपर्नेमा जोड दिँदै मन्त्री बस्नेतले पश्चिम नेपालकै सबैभन्दा ठूलो अस्पतालका रूपमा चिनिएको यस अस्पतालले बिरामीसँग नम्र र शिष्ट भएर काम गर्न पनि चिकित्सक र कर्मचारीलाई आग्रह गरे ।
यस्तै मन्त्री बस्नेतले एक महिनाभित्रै काज फिर्ताको विषय टुंगिने बताएका छन् । उनले पहुँच र भनसुनको भरमा मन्त्रालय र आफू अनुकूल ठाउँमा वर्षौदेखि काजमा बस्नेहरू अब एक महिनाभित्रै आफ्नो दरबन्दीमा जाने दावी गरे ।
मन्त्री बस्नेतले कतै चाहिएको भन्दा धेरै स्वास्थ्यकर्मी हुने र कतै स्वास्थ्यकर्मीको अनुहारै नदेखिने स्थिति आएपछि काज फिर्ताको कामलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न लागिएको पनि स्पष्ट पारे ।
काज फिर्ता हुन थालेपछि चिकित्सकको अनुहार नै नदेखिएका विकटका ठाउँका जनताले चिकित्सकीय सेवा पाउन थालेको समेत स्मरण गराएका थिए । संविधानले नै स्वास्थ्यलाई मौलिक हकका रुपमा स्थापित गरिसकेकाले पैसा र उपचार अभावका कारण कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने सवालमा मन्त्रालय स्पष्ट रहेको उनको भनाइ छ ।
सत्यपाटी संवाददाता । बाँके