सूचनाको शक्ति - The Power Of Information

        

एक वर्षमा हात्तीका सात छावा

चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन् तथा तालिम केन्द्र खोरसोर र पोष्टमा रहेका हात्तीले गत आर्थिक वर्षमा सात छावा जन्माएका छन् । निकुञ्जका हात्तीले एकै वर्षमा जन्माएको यो ठूलो सङ्ख्या हो । तालिम केन्द्रका प्रमुख मनपुरण चौधरीका अनुसार खगेन्द्र मल्ली पोष्टमा रहेको गणेशकलीबाहेक सबै तालिम केन्द्रका हात्तीले बच्चा जन्माएका हुन् ।

तीर्थमानकली, हिमानीकली, चितवनकली, तमरकली, लोकतन्त्रकली र ऐश्वर्यमालाकलीले बच्चा जन्माएका उनले बताए । गण्डकीकलीले समेत बच्चा जन्माएको जनाउँदै चौधरीले उक्त बच्चा बचाउन नसकिएको जानकारी दिए । उनका अनुसार गत आवमा यहाँका तीन हात्ती शुक्लाफाँटा पठाइएकोमध्ये नारायणीकलीले शुक्लाफाँटा पुगेर बच्चा जन्माएको थियो ।

चौधरीले भने, ‘हाम्रा यहाँका हात्तीका नौ बच्चा जन्मिएका हुन् । एउटा बचाउन सकिएन, एउटा शुक्लाफाँटा गएर जन्मियो ।’ उनले हात्ती प्रजननमा अहिलेसम्मकै धेरै सङ्ख्यामा बच्चा जन्मिएको बताउँदै यो निकुञ्जकै महत्वपूर्ण उपलब्धि भएको बताए । चौधरीका अनुसार अघिल्लो आवमा एउटामात्रै बच्चा जन्मिएको थियो ।

‘यो वर्ष थप तीन हात्ती गर्भवती भएका छन् । आगामी आवमा आठदेखि नौ वटा बच्चा जन्मिने सम्भावना छ,’ उनले भने । बच्चा जन्मिएको दुई महिनापछि नै हात्ती पुनःगर्भवती हुनयोग्य हुने चौधरीले जानकारी दिए । यस वर्ष बच्चा जन्माएका सबै हात्ती गर्भवती भइसकेका छन् । उनका अनुसार २२ देखि २४ महिनामा हात्तीले बच्चा जन्माउँछ ।

हाल जन्मिएका अधिकांश बच्चा जङ्गली हात्ती रोनाल्डा र गोविन्देका हुन् । गत वर्ष रोनाल्डो चार महिना तालिम केन्द्र क्षेत्रमा रहेकाले गर्भवती भएका अधिकांश हात्तीको प्रजनन रोनाल्डोसँग भएको उनको भनाइ छ । जन्मिएको तीन वर्षपछि हात्तीका बच्चालाई तालिम दिने गरिएको चौधरीले बताए ।

उनका अनुसार तालिम केन्द्रले गत वर्ष नौ हात्तीका बच्चालाई तालिम दिएर पोष्टमा पठाएको थियो । ‘गत वर्ष कसरामा र सौराहामा दुई–दुई तथा बेलसहर, कछुवानी, बगही, बाघमारा र अमृते पोष्टमा एक–एक हात्ती तालिमपछि पठाइएको छ,’ उनले भने, ‘तीन महिनामा तालिम सम्पन्न हुन्छ ।’

चौधरीका अनुसार प्रजनन केन्द्रमा हाल १२ माउ हात्ती छन् । निकुञ्जमा ६० सरकारी हात्ती छन् । ती हात्ती पोष्टमा सुरक्षामा खटिने गर्दछन् । विसं २०४४ देखि सुरु भएको हो । विसं २०५४ देखि बच्चा जन्मिन थालेका थिए । हालसम्म ६३ बच्चा जन्मिएका राष्ट्रिय निकुञ्जअन्तर्गत हात्ती प्रजनन् तथा तालिम केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार १६:३९