सूचनाको शक्ति - The Power Of Information

        

ब्यारेकबाट निस्किएपछि नेपाली सेनाका मेजर बेपत्ता

नेपाली सेनाका एक जना गुल्मपति बेपत्ता भएका छन् । डोल्पाको सदरमुकाम दुनैस्थित नन्द बक्स गुल्मका इञ्चार्ज विमल पण्डित हिजोदेखि सम्पर्कबिहीन भएका हुन् । आइतबार अपराह्न साढे ४ बजे इभिनिङ्ग वाकका लागि उनी ब्यारेकबाट निस्किएका थिए ।

आफ्ना सुरक्षा गार्डलाई समेत ‘तँ नआइज, आज म एक्लै जान्छु’ भनेर फर्काएका पण्डित झण्डै २४ घण्टासम्म बेखबर भएको घटनाले आशंका उब्जाएको त्यहाँका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोख्रेलले बताए ।

‘त्रिपुरातिर जान्छु भनेर व्यारेकबाट निस्किनु भएको रहेछ । अहिलेसम्म उहाँ ब्यारेकमा फर्किनुभएको छैन,’ पोखरेलले भने, ‘पीएसओसमेत नलिई बाहिर निस्किनुभएकाले सम्पर्क हुन सकेको छैन ।’

पण्डित हराएको पुष्टि गरेका डोल्पाका प्रजिअ पोखरेलले खोजविन भैरहेको जानकारी दिएका छन् । आज बिहानसम्म त्रिपुरातर्फ गएको भन्ने जानकारी प्राप्त भएको र खोजी कार्य त्यतै केन्द्रित गरिएको उनले बताए ।

डिएसपीको नेतृत्वमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानको टोलीले पण्डितको खोजी गरिरहेको छ । तर, टेलिफोन नेटवर्कको समयले गर्दा केही कठिनाइ भएको सिडियो पोखरेलले जानकारी दिए ।

‘मेजर पण्डितको खोजीका लागि हामीले डीएसपीको नेतृत्वमा तीन वटै संगठनको संयुक्त टोली परिचालन गरेका छौँ,’ उनले भने, ‘अहिलेसम्म उहाँ भेटिनु भएको छैन । त्रिपुरातिर गएको भन्ने सूचनाका आधारमा खोजी भइरहेको छ ।’

मेजर पोखरेल ब्यारेकबाट निस्किएर नफर्किएको २४ घण्टा हुन लाग्दा पनि सम्पर्कमा नआएपछि अनेक आशंकाको अवस्था उत्पन्न भएको पोखरेलले बताए ।

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार १६:१३