सूचनाको शक्ति - The Power Of Information

        

सुन तस्करी प्रकरण : सहयोगका लागि इन्टरपोललाई पत्र

साउन पहिलो साता तस्करी गरी ल्याइएको झण्डै ६१ किलो सुन प्रकरणबारे नेपाल प्रहरीले इन्टरपोलसँग सहयोग मागेको छ । सुन तस्करीमा भारत र चिनियाँ नागरिक संलग्न देखिएकाले अन्य थप सूचना लिनका लागि प्रहरीले इन्टरपोलको सहयोग मागेको हो ।

यसअघि पक्राउ परेका व्यक्तिहरुमध्ये केही चिनियाँ र केही भारतीय नागरिक छन् । केही चिनियाँसँग भने भारतीय आधार कार्डसमेत फेला परेकाले भारत र चीनको इन्टरपोललाई सहयोगका लागि नेपालबाट पत्राचार गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले नेपालको इन्टरपोलमार्फ भारत र हङकङको इन्टरपोललाई पत्राचार गरेको प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले पुष्टि गरे ।

सिआईबीले भारतको इन्टरपोल नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी)सँग र इन्टरपोल बेइजिङका दुईवटा सबब्यूरो (हङकङ र मकाउ) मध्ये हङकङ ब्यूरोसँग सीआइबीले सहयोग मागेको हो । पटकपटक ठूलो परिमाणमा अवैध सुन बरामद गरेको नेपाल प्रहरीले सुन भारत लाने गरिएको बताउँदै आएका छन् ।

सुन तस्करी प्रकरणमा हालसम्म विदेशीसहित २३ जनालाई पक्राउ गरिएको छ । आपराधिक घटनाको अनुसन्धानका क्रममा अपराधीबारे अर्को देशबाट कुनै सूचना वा जानकारी लिन आवश्यक पर्दा प्रहरीले इन्टरपोलसँग समन्वय गर्ने गर्छ ।

इन्टरपोलका अनुसार हाल उक्त सङ्गठनका १९५ देश सदस्यका रूपमा रहेका छन् । सदस्य राष्ट्रमा इन्टरपोल नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी) हुने गर्छ । आपराधिक विषयमा सूचना आदानप्रदान बाहेक फरार अपराधीको हकमा इन्टरपोलमार्फत सूचना जारी गर्ने अभ्यास छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुबेर कडायतले अपराधको प्रकृति हेरी इन्टरपोलसँग एक अर्का देशका प्रहरीहरूबीच सूचना आदानप्रदान हुने र यो पनि अनुसन्धानको स्वभाविक प्रक्रिया भएको बताए ।

गएको साउन ३ गते हङकङबाट ल्याइएको ६० किलो ७१६ ग्राम सुन राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो । ’ब्रेक शु’मा हालेर उक्त सुन ल्याइएको थियो ।

विभागले झण्डै तीन हप्ता अनुसन्धान गरेपछि अहिले सुन प्रकरणको अनुसन्धान सिआइबीले गरिरहेको छ । सिआइबीले हिजो मात्रै सुन प्रकरणका आवश्यक सूचना र जानकारी भए उपलब्ध गराइदिन सार्वजनिक अनुरोध समेत गरेको छ । सुन तस्करीमा छानबिन आयोग गठन गर्ने दलहरुबीच सहमति भइसकेको छ ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतवार १४:५०