बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा २९० जनाविरुद्ध मुद्दा दर्ता भएको छ । सरकारी वकिलको कार्यालयले सञ्चारसचिव कृष्णबहादुर राउत, चार पूर्वमन्त्रीसहित २९० जनाविरुद्ध किर्ते कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गराएको हो ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले राउतलाई प्रतिवादी नबनाउन राय दिएको थियो । तर, सरकारी वकिलको कार्यालयले सिआइबीले ५८ दिन लामो अनुसन्धान गरेर बुझाएको प्रतिवेदन अध्ययन गर्दै राउतविरुद्ध पनि मुद्दा चलाएको हो ।
त्यस्तै चार पूर्व मन्त्रीसहित २९० प्रतिवादीहरूविरूद्ध कीर्ते गरेकोमा पुरानो मुलुकी ऐन बमोजिम कैद र जरिवाना माग गरिएको छ । यो प्रकरणमा किर्ते गर्ने अरू सर्वसाधारणलाई १ वर्ष कैद र मन्त्री, सचिव लगायत सरकारी कर्मचारीलाई थप दुई वर्ष सजाय माग गरिएको छ ।
१८ अर्ब केही बढी बिगो भराउन पनि यो मुद्दामा माग गरिएको छ । हाइ प्रोफाइल व्यक्तिहरूसमेत जोडिएको ललितानिवास प्रकरणमा पक्राउ १८ जना पक्राउ परिसकेका छन् । सरकारी किर्तेमा एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको व्यवस्था छ ।
सत्यपाटी संवाददाता । काठमाडौं