सूचनाको शक्ति - The Power Of Information

        

साहित्य : कविता

क्यानभासको चित्रकथा

एउटा क्यानभासको माथिल्लो भागमा
घाम उदाउँन खोजेझैँ
पँहेलो रङ पोतेकोे आकाश दृश्य
हरियो पर्वतमालामाथि
श्वेत हिमशृङ्खलाले बलात्कार गरेजस्तो
धरतीमा कौमार्य पोखिरहेको दिब्यता
स्निग्ध तारामण्डलजस्तो लाग्ने
मानिसहरुको बस्तीमा टल्किएका घरहरु
अभिभूत बनाउने सौन्दर्यको महासागर

नदीहरु छन्, बगिरहेका बाङ्गाटिङ्गा
खहरे खोला र तालतलैया, गुराँसको बन
तोरीबारी, धानखेत र मकैका सुलीहरु
अडरी, उखुघारी र घुर तापिरहेका मानिसहरु
खलियानको किनारामा थुप्रिएको परालको घुरानमा
गौंथलीका चल्लाजस्ता अनेक जोडी प्रेमी
बिभिन्न रङका चकटीमा विभोर मानिसहरुको
प्रेम, सद्भाव र निष्ठाको विपुल अनुभूति ।

यो एउटा क्यान्भास हो,
इतिहासको क्रुर पदचापबाट निस्किएको पटकथाजस्तो
शदीयौँअघि जटील समयमा एक चित्रकारले कोरेको
चित्रकारीको दिगन्त छाया, वर्चश्व र अस्मिताको हिस्सा
समयका अनेक घाउचोट खपेर बाँचिरहेको
अहम्, स्वत्व र निरवच्छिन्न सौन्दर्यको प्रतिमान
जिउँदै चितामा जलेर पनि
सत्यको नाममा शान्त र सुस्मित नारीहरुको स्वाभिमान ।

यो एउटा क्यानभास हो
यसमा कोरिएका छन्, माटोका अदृश्य स्पन्दन
विभेद, दासता, क्रन्दन र बिद्रोहको अग्निगर्भ
यसको अन्तर्यमा लुकेका छन्
मकै पर्व, रक्तपर्व र वंशपर्वका
अनेकानेक प्रतिघातका रक्त रञ्जित बीर्यपात
कुसंस्कार र अभिसारका दंशहरु
नायकहरुको अभिघातका कठोर दर्दहरु ।

निकै लामो छ, चित्रको विचित्र कथा
पटक-पटकका उत्सर्गका
मनमा गढेका कतिपय खोपहरु छन्
उत्पीडनको आगो र विषमता घाउहरु छन्, मनमा
कहिले बज्छ, बाँसुरी थाहा छैन
कहिले निस्कन्छ,बाँसुरीका आँखाआँखाबाट गोली
वर्र्तमान भने झनझन्
हेमलिन सहरझैँ आक्रान्त हुँदैछ ।

 

प्रकाशित मिति : १० भाद्र २०८०, आइतवार ०९:०७