बाँकेको जानकी गाउँपालिका–३ ईन्द्रपुरका २२ बर्षिय अर्जुन कुसबन्ध्या आफ्नो बस्ती नजिकैको आँप बगियाको छहारीमा बसेर सिलौटा र जाँतो खोप्छन् । उनी मात्र होइन उनका दाजु, भाई र काकाले पनि सँधै सँगै बसेर सिलौटा खोपीरहेका भेटिन्छन् ।
११ बर्षको उमेरदेखि नै सिलौटा खोप्न सिकेको बताउने अर्जुनले एक दिनभरी खोपेको सिलौटा र जाँतो अर्को दिनभरी साइकलमा राखेर बिक्री गर्न विभिन्न टोलमा लैजाने गरेको बताउँछन् । ‘कहिले काँही सबै बिक्री हुन्छ कुनै दिन त एउटा पनि विक्री हुँदैन त्यसै फर्काएर ल्याउँछु,’ उनले भने, ‘अरु काम जानेको छैन, विक्री नभएपनि सिलौटा खोपीरहन्छु ।’
नेपालगन्ज–६ फुलटेक्राका जोग्या कुसबन्ध्याले सिलौटा, जाँतो बनाउने र त्योसँगै सनपाटको डोरी विक्री गर्दै आएका छन् । बाबुआमाले गर्दै आएको पुर्ख्यौली पेशा अंगालेको उनी बताउँछन् । तर सिलौटा, जाँतो बनाएर विक्रीका लागि गाउँगाउँमा पुग्दा कसैले किन्न नमानेको उनको गुनासो छ ।
‘सिलौटा खोप्दा कहिले हथौडाले उङ्ग्ली (औंला) फुटिहाल्छ, कहिले साना टुक्राले आँखामा चोट लाग्छ,’ उनले भने, ‘यति मेहनत गरेर बिक्री गर्न जाँदा मिमिक्चरको जमानामा सिलौटा केकाम ? भन्छन् बहुत दुःख लाग्छ ।’ अन्य बैल्कल्पीक पेशा नभएपछि नेपालगन्ज फुलटेक्राका खोद्वा कुसबन्ध्याले पनि पूर्खाले अंगाल्दै आएको पेशालाई निरन्तरता दिइरहेको बताउँछन् ।
तर बनाएर राखेको सिलौटा विक्री गर्न मुस्किल भएको उनले पनि सुनाए । महिनाभरी मुस्कीलले पाँच वटासम्म बिक्री हुन्छ । उनले भने, ‘परिवार ६ जनाको छ सबैको पेशा यहि हो साँझ विहानको छाक टार्न मुस्किल छ ।’ बाँकेको जानकी गाउँपालिका–३ ईन्द्रपुरकी अरुणी कुसबन्ध्याले श्रीमान र ससुरा सिलौटा बिक्रीका लागि दिनभरी गाउँ डुले पनि बेलुका रित्तो हात घर फर्किने गरेको बताइन् ।
उनले भनिन्, ‘सिलौटा विक्रीको लागि कोहलपुर सम्म जानुहुन्छ , एउटा पनि बिक्री नभएर निरास भएर फर्काएर ल्याउनुहुन्छ ।’ कुसबन्ध्या समुदायका पुरुषहरु सिलौटा, जाँतो बनाएर विक्रि गर्ने र महिलाहरु घर घरमा पुरानो सिलौटा, जाँतो खोप्न जाने गरेको बताउँछन् । सिलौटा खोपेवापत दाल चामलमात्र पाउने गरेको बताउँछिन् सोही ठाउँकी केतकी बुसबन्ध्या ।
उनी भन्छिन्, ‘दिन भरी डुलेर एक दुई ठाउँमा पुरानो सिलौटा खोप्ने काम पाईन्छ, त्यसबापत एक डेढ केजी चामल र दाल पाइन्छ साँझ घर फर्केर त्यहि चामल पकाएर छाक टार्छम् ।’ सिलौटा, जाँतो बनाउने ढुंगा नेपालमा नपाइने र भारतको बहराइचबाट किनेर ल्याउने गरेको उनीहरु बताउँछन् ।
बहराइचबाट खरिद गरेर ल्याएको ढुंगालाई काँटछाँट गरेर उनीहरुले कलात्मक बनाउँछन् र विक्रीका लागि गाउँगाउँ पुग्छन् तर, विक्री हुँदैन । एउटा सिलौटा बनाउने ढुंगाको मूल्य भारतीय १५० रुपैयाँ पर्ने गरेको र बनाइसकेपछि चार–पाँच सयमा विक्री गर्न पनि समस्या भएको ईन्द्रपुरका पट्वारी कुसबन्ध्याले बताए ।
आधुनिकतासँगै आफुहरुको पेशा संकटमा परेको उनको भनाई छ । पट्वारीले भने, ‘जाँताको ठाउँमा मिल आयो, सिलौटाको साटो मिक्चर लिन थाले, सनपाटका डोरी छोडेर प्लाष्टिकको डोरी लिन्छन् हाम्रो मेहनत कसैले बुझ्दैन ।’ यसअघि सिलौटा, जाँतो र सनपाटको डोरी बनाएर विक्री गर्दै आएपनि आधुनिकतासँगै अहिले पेशामा विराम लागेको उनो भनाई छ ।
सिलौटा, जाँतो बनाउने ढुंगा यसअघि भारतको बहराइचबाट ठेकेदारले ट्रकमा आफै लोड गरेर बस्तीसम्म ल्याईदिने गरेकोमा हाल नेपालगन्ज भन्सार कार्यालयले ल्याउन नदिँदा पेशा झन् संकटमा परेको पट्वारीले बताए । अहिले सबैजना साइकलमा थोरै मात्रामा ढुँगा ल्याएर बनाएको सिलौटा जाँतोबाट केही फाइदा नभएको उनले सुनाए ।
नेपालगन्जमा बनाएको सिलौटा जाँतो सुर्खेत, दाङतिर केही मात्रामा बिक्री भए पनि बाँकेमा बिक्री हुन छाडेको पट्वारीले बताए । जनजातीभित्रको लोपोन्मुख जाति मानिने पथरकट्टा एवं कुसबन्ध्या समुदायको जनसंख्या बाँकेमा करिव ३०० को हाराहारीमा रहेको बताइन्छ ।
उनीहरुले सरकारबाट प्रत्येक सदस्यले सामाजिक सुरक्षा भत्ता पनि पाउँदै आएको बताउँछन् । तर आफूले बनाएका सामाग्री बिक्री नभएर पुख्र्यौली पेशा संकटमा परेको र सामाजिक सुरक्षा भत्ताले मात्र जिवन धान्न मुस्कील भएको कुसबन्ध्या समुदायका अगुवाहरु बताउँछन् ।
सत्यपाटी संवाददाता । बाँके