सूचनाको शक्ति - The Power Of Information

        

पाँच दिनपछि हुम्लामा हवाई उडान, यात्रुलाई सहज

राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लामा पाँच दिनपछि हवाई उडान सञ्चालन भएको छ । लगातारको झरीसँगै बाक्लो हुस्सु लागेर मौसम खराब हुँदा हुम्लासहित कर्णालीका हिमाली जिल्लामा हवाई उडान अवरुद्ध भएको थियो ।

गत आइतबार उडान भरेका निजी जहाजले सोमबार बिहानदेखि हुम्लामा रातिबाटै लगातार पानी परेका कारण जिल्लाको हवाई सेवा त्यसयता अवरुद्ध भएको थियो । शनिबार बिहान जिल्लाको मौसम सफा हुँदा नेपालगन्जबाट समिट एयरले पहिलो उडान सिमकोट भरेको हुम्लाका स्टेशन इञ्चार्ज गोविन्द लामाले बताए ।

बिहान १० बजेपछि मौसममा सुधार आउँदा निजी एयरलाइन्स उडान भर्न सफल भएका हुन् । हवाई सेवा सञ्चालन हुँदा जिल्ला बाहिर जाने यात्रु र जिल्लाभित्र आउने यात्रुलाई केही सहज भएको छ । जिल्लामा दैनिक उपभोग्य वस्तु भित्रिएको छ ।

उडान नभएपछि पाँच दिनअघि टिकट लिएका यात्रु नेपालगञ्ज विमानस्थलमा रोकिनु परेको थियो । उडान हुँदा यात्रुलाई सहज भएको छ भने दैनिक उपभोग्य वस्तु र अन्य सामान पनि ढुवानी हुने भएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार १५:२०