सूचनाको शक्ति - The Power Of Information

        

अति संकटापन्न ‘ब्लाक सफ्टसेल’ कछुवा फेला

मोरङको बेलबारीस्थित बेतना सिमसारमा नयाँ जातको कछुवा फेला परेको छ । अति संकटापन्न सूचीमा रहेको ‘ब्लाक सफ्टसेल’ नामक कछुवा दुई दर्जनभन्दा बढीको संख्यामा रहेको वैज्ञानिकको टोलीले पत्ता लगाएका छन् ।

‘बेतना सिमसारमा धेरै वर्ष अघिदेखि पाउने गरिएको ती कछुवालाई मयुर प्वाँखे कछुवा भन्ने गरिन्थ्यो, तर त्यसको च्यापु हेरेपछि थाहा भयो यो नेपालको लागि नयाँ प्रजातिको कछुवा भनेर,’ वातावरण पत्रकार साथै प्राणी शास्त्रका उपप्राध्यापक रामचन्द्र अधिकारीले भने ।

सन् २०२२ मा आरको नेपालको सहयोगमा अष्ट्रियाका वैज्ञानिक डा. पिटर प्रस्छाङको नेतृत्वमा गरिएको अनुसन्धानले मोरङको बेतना सिमसारमा ब्लाक सफ्ट सेल (कालो नरम खपटे) प्रजातिको कछुवा फेला पारेको हो ।

जसको वैज्ञानिक नाम ‘निलोस्सोनिया निगृकन्स’ रहेको छ । उक्त अनुसन्धान टोलीका एक सदस्य तपिल प्रकाश राईका अनुसार उक्त कछुवा ‘आइयुसीएन’मा अति संकटापन्न प्रजातिको रुपमा सूचीकृत रहेको बताए ।

नरम स्वभावको, मानिससँग घुलमिल हुन रुचाउने उक्त कछुवा ७० देखि ८० किलोसम्मको हुने र बेतना सिमसारमा करिब दुई दर्जनको संख्यामा रहेको अनुसन्धान टोलीका सदस्य तपिल प्रकाश राईले जानकारी दिए ।

भारत र बंगलादेशको केही स्थानमा मात्र भेटिने उक्त कछुवा झट्ट हेर्दा मयुर प्वाँखे कछुवासँग मिल्दाजुल्दो देखिन्छ । तर, फरक प्रजातिको रहेको राईले बताए ।

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार १५:१७