सूचनाको शक्ति - The Power Of Information

        

६० वर्ष अंगालेको पेशा संकटमा, कठिन बन्दै पदमलालको दैनिकी

खरको छानो र काठका बाकलले घेरिएको छ, पदमलाल विश्वकर्माको आरन । टाढाबाट हेर्दै झट्ट देखिन्छ आरन । उनको आरनमा छरपस्ट फलामका टुक्रा छन् । बनाउन ल्याइएका गाउँलेका हँसिया, कोदालो र अन्य फलामका सामग्री रहेका छन् ।

बिहानको खाजानास्तापछिको उनको दिनाचार्य हुन्छ, फलामसँग जुध्ने । मकवानपुरको बकैया गाउँपालिका–५ निवासी पदललाल ७७ वर्ष भए । १३ वर्षको उमेरदेखि पुर्खौली पेसालाई अंगाल्दै आएका उनको छ दशकभन्दा बढी समय आरनमा फलाम पिटेर बितेको छ ।

गाउँघरमा खेतीपाती गर्नेको संख्या घट्दै गएपछि आरन पेसा संकटमा पर्न थालेको पदमलालले बताए । १३ वर्षको कलिलो उमेरदेखि आरन फलाम पिट्ने काम गरेको अनुभव सुनाउँदै उनले पछिल्ला केही वर्षयता फलाम पिट्ने काम कम हुँदै गएको गुनासो गरे ।

पछिल्लो समय प्रविधिको विकासले फड्को मारेर खेतबारीमा ट्र्याक्टरको प्रयोग हुन थालेपछि हलो, चाँदे, कोदालीको प्रयोगमा कमी हुँदै जाँदा आरन पेसा संकटमा पुग्न थालेको पदमलालको भनाइ थियो ।

‘आरनबाट दैनिकीसमेत चल्न गाह्रो पर्न थालेपछि युवा पुस्ताले यो पेसा गर्न रुचाउँदैनन्, पढाई तथा रोजगारीका लागि अन्यत्र जानेको जमात बढी छ,’ उनले भने, ‘अहिलेसम्म आरनबाटै चार जनाको परिवारको जीविकोपार्जन भइरहेको छ, पुर्खौली पेसा भएकाले छाड्न मन लाग्दैन ।’

आफूले अरु काम नजानेको र बाबुबाजेले पनि यही काम गर्दै आएकाले यसलाई निरन्तरता दिएको उनको भनाइ थियो । पदमलालले फलाम ल्याएर हँसिया, कुटो, कोदालो, खुकुरी, दाउलगायत सामग्री परम्परागत रुपमा बनाउँदै आएका छन् ।

पछिल्लो समय कोइला नपाउने, पाए पनि महँगोमा पाइने हुँदा काममा अप्ठ्यारो भएको उनले बताए । पहिले काम गरेबापत मकै, चामल भाग लिने चलन रहेको बताउँदै अहिले चलन हराउँदै गएपछि नगद लिने गरेको उनले सुनाए ।

‘आँखाले देखुञ्जेल फलाम पिट्छु र जीविकोपार्जन गर्छु भन्ने लाग्छ, गाउँ विकास भयो, मेसिनबाट खेतीपाती लगाउन थाले, तैपनि केही चिज आरनमै बनाउन आउँछन्, खुसी लाग्छ,’ उनले भने । प्रविधिको विकाससँगै पेसालाई बदल्न नसक्दा गाउँका कतिपयले आरन पेसा बन्द गरेर अन्य पेसा गरिरहेका उनको भनाइ थियो ।

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार १५:१३