सूचनाको शक्ति - The Power Of Information

        

जब मन्दिरको दान पेटिकामा सय करोडको चेक भेटियो…

मन्दिर सबैको आस्थाको विषय हो । मानिसहरू मन्दिरमा गएर भक्तिभावले पूजा गर्छन् । केही भक्तजनहरू दान गर्छन् । भक्तजनहरूले खुलासा गर्दैनन् कति दान गरे भनेर । तर, भारतको एक मन्दिरमा एक जना व्यक्तिले मन्दिरको दान पेटीमा सय करोडको चेक राखिदिए ।

आन्ध्र प्रदेशको विशाखापट्टनमस्थित बराह लक्ष्मी नरसिंह मन्दिरको दान पेटिकामा एक भक्तले एक सय करोडको चेक जम्मा गरेका थिए । अगस्ट २३ मा मन्दिर प्रशासनले चन्दा बाकसमा पैसा गणना गर्न थालेपछि एक कर्मचारीले नोटको थुप्रोबाट सय करोडको चेक फेला पारे ।

यो देखेर सबै छक्क परे । कर्मचारीले मन्दिरका वरिष्ठ अधिकृतलाई जानकारी गराए । यो चेक देखेर उनी पनि छक्क परे । मन्दिर प्रशासनका अधिकारीहरू एमभीपी कालोनीस्थित कोटक बैंकको शाखामा पुगे । चेकबारे बैंकका कर्मचारीलाई सोध्दा सबै छक्क परे ।

मन्दिरलाई एक सय करोडको चेक दान गर्ने व्यक्तिको खातामा १७ रुपैयाँ मात्र रहेको समाचारमा जनाइएको छ । कसैले किन यस्तो गर्ला भन्ने सुनेर सबै अचम्ममा परेका छन् । बैंकबाट प्राप्त जानकारीअनुसार जुन खाताबाट यो चेक दिइएको हो, त्यो खाता बोड्डेपल्ली राधाकृष्णको नाममा रहेको छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार १५:१०