सूचनाको शक्ति - The Power Of Information

        

सय वर्षदेखिको खानेपानीको समस्या अन्त्य

बागलुङ बजारसँगै जोडिएको गाउँ भए पनि खानेपानीको चरम सङ्कट भएको रातमाटा गाउँमा अहिले खुसियाली छाएको छ । बागलुङ नगरपालिका–३ रातमाटा गाउँमा खानेपानीको समस्या आजको नभएर सय वर्ष पहिलादेखिको भएको स्थानीयको भनाइ छ । चार किलोमिटर टाढा छरिखोला गाउँबाट मुलको पानी लिएर १८१ घरमा खानेपानी वितरण भएपछि यहाँका स्थानीयको दैनिकी नै फेरिएको छ ।

तीन महिनामा बागलुङ नगरपालिका, नेपाल स्वास्थ्यका लागि पानी (नेवा) र स्थानीय रातमाटा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको साझेदारीमा रु एक करोड नौ लाख खर्चेर घरघरमा खानेपानीको धारा निर्माण गरिएको स्थानीय मुरारी शर्माले बताए । २०५८ बाटै छरिखोलाबाट पानी ल्याउन थाले पनि व्यवस्थित नुहँदा सामुदायिक धाराका कारण खानेपानीको समस्या भएको र अहिले घरघरमै २४सै घन्टा खानेपानीको सुविधा भएको उनको भनाइ छ ।

‘काठेखोला पुगेर पानी लिएको पुर्खाले बताएको सुन्दै आएका थियौँ, अहिले घरघरमै खानेपानीको धारा आएको छ, पहिलाको पानी व्यवस्थित नहुँदा समस्या थियो, हिउँदमा त पानी भर्न पालो कुर्नुपर्ने अवस्था थियो,’ स्थानीय मुरारी शर्माले भने, ‘बागलुङ नगरपालिकाको पहलकदमीलाई विशेष धन्यवाद दिन चाहान्छौँ, बागलुङ बजारसँग जोडिएको गाउँ भए पनि बत्तीमुनिको अँध्यारो जस्तो भएको थियो रातमाटा, यहाँको खानेपानीको दुःख, सङ्घर्ष र पीडा भनीसाध्य थिएन, अहिले विकासको महसुस गरेका छौँ ।’

पटकपटक खानेपानी आयोजना परे पनि व्यवस्थित नहुँदा खानेपानीको दुःख नगएको भन्दै अहिले नेवाको आर्थिक तथा प्राविधिक सहयोग नगरपालिकाको र स्थानीय उपभोक्ताको साझेदारीमा १८१ धारा बनेकामा १७५ घर र छ वटा सार्वजनिकस्थल तथा विद्यालय लगायतका स्थानमा धारा निर्माण गरिएको हो । रातमाटामा खानेपानीको दुःख पहिलेदेखि सुन्दै आएको बताउँदै नगर प्रमुख वसन्तकुमार श्रेष्ठले तीन महिनामा एक करोड नौ लाखको आयोजनाको काम सम्पन्न हुनु गौरवको विषय भएको बताए ।

उनले आफ्नो कार्यकालभित्रै सर्र्भे गरेको योजना यतिछिट्टै सम्पन्न भएर आफ्नै हातले उद्घाटन गर्न पाएकामा नेवालाई धन्यवाद दिए । ‘नेवाको साझेदारीमा एक वर्षभित्रै सङ्कटग्रस्त क्षेत्र लङ्गाउँमा लिफ्टमार्फत खानेपानी वितरण गरियो, त्यसको एक महिनापछि रातमाटामा एक सय ८१ घरमा खानेपानी पु¥याएको छ,’ नगर प्रमुख श्रेष्ठले भने, ‘खानेपानीको दुःख रहेको रातमाटाका घरघरमा धारा बन्दा स्थानीयको दैनिकी फेरिने भयो ।

नेवाको ६७ लाख ५९ हजार ९८५, नगरपालिकाको १६ लाख ९३ हजार ७९४, स्थानीय समुदायको नगद छ लाख ३४ हजार १८३ र स्थानीयको श्रमदान बराबरको १९ लाख ६९ लाख ९१६ गरी एक करोड नौ लाख ७५ हजार ७५७ रकममा उक्त खानेपानी आयोजना निर्माण सुरु भएको तीन महिनामै सकिएको रातमाटा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सचिव दिपक शर्माले बताए ।

शर्माका अनुसार आयोजना सम्पन्न गर्न नेवासँग २०७९ पुस २६ गते सम्झौता भए पनि चैतदेखि निर्माणको काम थालिएकामा निर्माण सुरु भएको तीन महिनामै खानेपानी आयोजनाको काम सकिएको हो । खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष हितनाथ शर्माले चार किलोमिटर मुख्य पाइपलाइनसहित घरमा घारा पुर्याउँदासम्म १८ किलोमिटर पाइपलाइन, तीन वटा इन्टेक, पाँच वटा वितरण ट्याङ्कीमार्फत रातमाटा गाउँका घरघरमा धारा वितरण गरिएको बताए ।

खानेपानीको चरम सङ्कट भएको स्थानमा नेवाले स्थानीय सरकारको नगद साझेदारीमा ‘एक घर, एक धारा’ निर्माण गरिरहेको जनाउँदै नेवा बागलुङका कार्यालय प्रमुख रमेश दाहालले बागलुङको रातमाटासहितका ठाउँमा पाँच वर्षमा पाँच हजार धारा निर्माण गरिएको बताए । २०५८ मा ‘रातमाटाको नारा घरघरमा खानेपानीको धारा’ भन्ने गरिएको अभियान अहिले आएर मात्रै पूरा भएको स्थानीय लक्ष्मी शर्माले जानकारी दिए ।

‘पहिलेको पानी व्यवस्थित थिएन, बिहान बेलुका मात्रै पानी आउथ्यो, हिउँदमा त खानेपानीको भर नै थिएन, अहिले खानेपानी जतिबेला खोल्दासमेत आउँछ,’ शर्माले भने, ‘अहिले त महिलाको दैनिकी पानीका लागि व्यवस्थापन गर्नु पर्दैन, खानेपानीले रातमाटावासीमा खुसियाली छाएको छ ।’

स्रोत : रासस
प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार १६:५७