सूचनाको शक्ति - The Power Of Information

        

२० महिनामै राजसंस्थाको पक्षमा फर्किए कमल थापा (पूर्णपाठ)

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा राजतन्त्रको पक्षमा फर्किएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहले महाधिवेशनमा हराएको भन्दै आक्रोशित बनेका थापा राजतन्त्र पुनर्स्थापनाको एजेन्डा छाडेर राप्रपाबाट अलग भएका थिए ।

तर, उनी २० महिनामै पुनः राजसंस्थाको पक्षमा उभिएका छन् । थापाले जारी केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा राजसंस्था पुनर्स्थापनाको पक्षमा रहेको बताएका छन् । प्रतिवेदनमा संवैधानिक राजतन्त्रसहितको प्रजातन्त्र राप्रपा नेपालको मूल विचार हुने उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘राजसंस्थाको पुनःस्थापना राप्रपा नेपालको मुख्य कार्यनीतिक एजेन्डामध्ये एक हुनेछ ।’ पार्टीले यस विषयमा आज औपचारिक निर्णय लिँदैछ । गणतन्त्र र धर्मनिरपेक्षता खारेजीका लागि राप्रपा नेपाल बलियो राष्ट्रिय मोर्चा बनाएर सडक आन्दोलनमा जानेसमेत थापाले बताएका छन् । उनले यसलाई ‘तेस्रो जनआन्दोलन’को संज्ञा दिएका छन् ।

‘नेपाली संस्करणको मौलिक प्रजातन्त्र स्थापनाको निम्ति नेपाली जनताद्वारा, नेपाली जनताको निम्ति नेपाली जनताको आन्दोलन नै तेस्रो जनआन्दोलन हो,’ उनले भनेका छन् । थापाले संघीय गणतन्त्रको नाममा कायम भ्रष्टतन्त्र अन्त्य गर्न सहमत हुने राजनीतिक समूह र दलहरूसँग सहकार्य र एकताको निम्तिसमेत अपील गरेका छन् ।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार १३:०९