सूचनाको शक्ति - The Power Of Information

        

१० लाखप्रति लाइसेन्स छाप्न बाँकी

१० लाखप्रति सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छाप्न बाँकी छ । यो सङ्ख्या स्मार्ट लाइसेन्स लागु भएदेखि हालसम्मकै सबैभन्दा धेरै हो । यातायात व्यवस्था विभागले हाल नियमित छपाइको काम बन्द गरेको छ । प्रिन्ट कार्ड सकिएकाले हाललाई बन्द गरिएको विभागले जनाएको छ ।

अत्यावश्यक बाहेकका लाइसेन्स छाप्ने काम बन्द छ । विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले भने, ‘छपाइ कार्ड सकिएको छ । हाल अत्यावश्यक छपाइ मात्र भएको छ । विदेश पढ्न जाने, शान्ति सेनामा जाने वा कामका लागि विदेश जानेको लाइसेन्स प्रिन्ट हुन्छ ।’ हाल विभागसँग छपाइ कार्ड ७० हजारको सङ्ख्यामा छ ।

कार्ड खरिदका लागि सम्झौता भएको पाँच महिना भइसक्यो तर कार्ड आएको छैन । एक डेढ महिनामा आउने सम्भावना रहेको प्रवक्ता पनेरुको भनाइ छ । विभागसँग एउटा मात्रै मासप्रिन्टर छ, जसले दैनिक चार हजार ५०० प्रतिप्रिन्ट गर्छ तर कार्ड नभएका कारण प्रिन्टरको दैनिक क्षमता अनुसार काम हुन पनि सकेको छैन ।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार १३:०१