छिमेकी भारतले प्याजको निर्यातमा ४० प्रतिशत कर लगाएसँगै नेपाली बजारमा प्याजको मूल्य फेरि बढेको छ । प्रतिकिलो ६०–७० रुपैयाँमा प्याज किन्दै आएका उपभोक्ता अहिले १०० रुपैयाँ वा त्योभन्दा बढीमा किन्नु परिरहेको गुनासो गर्छन् ।
काठमाडौंको चाबहिलमा तरकारी बजारमा व्यापार गर्दै आएकी खुद्रा व्यापारी ऋतु सिलवाल तीन चार दिन यता प्याजको बिक्री गर्न निकै सजिलो भएको बताउँछिन् । ‘बजारमा प्याज पाइन छोड्यो भन्ने बितिक्कै मानिसहरूले हानथाप गरेर किन्छन् । हामीले होलसेल व्यापारीबाट बोरामा उठाएर प्याज ल्याउँछौँ । अरू बेलाभन्दा अहिले तरकारी बेच्न सजिलो भएको छ,’ उनले भनिन् ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दैनिकरूपमा प्याज ल्याउने गरेका व्यापारीले नै प्याज ल्याउन छोडेको भन्दै दैनिक राख्ने मूल्यसूचीबाट प्याज शीर्षक हटाएको थियो । समितिका सूचना अधिकारी विनय श्रेष्ठका अनुसार कालीमाटीमा प्याज लिएर व्यापारीहरू आउन छोडेपछि मूल्यसूची नराखिएको हो ।
‘८०–८१ जना प्याज तथा आलु व्यापारीले बजारमा ल्याएपछि पाँचवटा मूल्यको नमुना लिएर हामीले मूल्यसूची राख्ने हो । प्याज नै नल्याएको अवस्थामा हामीले मूल्यसूची राख्न छोडेका हौँ,’ उनले भने । भारतले प्याजको निर्यातमा ४० प्रतिशत कर लगाएसँगै त्यसको प्रभाव नेपाली बजारमा परेको उनी बताउँछन् ।
‘निर्यातमा कर लगाएपछि उता (भारतमा) किसानहरूले विरोध गरिरहेका छन् भन्ने सुनिएको छ । सायद भारतले किसानको माग अनुसार गर्यो भने यता फेरि बजार सहज हुन्छ । तर त्यसका लागि केही समय लाग्छ,’ उनले भने । व्यापारीले नै प्याज नल्याएको भन्दै मूल्यसूची नराखेको समितिले बिहीवार भने प्याजको मूल्य सूची न्यूनतम ७५ रुपैयाँ र अधिकतम ८० रूपैयाँ राखेको छ ।
बजारको अनुगमन गर्दा के पाइयो ?
प्याजको कृत्रिम अभाव देखाएर कालोबजारी गरेको गुनासो आएपछि बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन गरेको जनाएको छ । विभागका निर्देशक घनश्याम सुवेदीले भदौ ४ गतेदेखि नै प्याज केन्द्रित भएर बजार अनुगमन गर्न थालिएको बताए ।
‘आयातकर्ता र ठूला व्यापारीलाई अनुगमन गर्दा बिल चाहिँ ६०–६५ रुपैयाँ प्रति किलो नै बनाएको पाइयो । तर खुद्रामा ८०–९० रुपैयाँ प्रति किलोमा बिक्री गरेको पनि देखियो,’ उनले भने ।
मूल्य बढाएर बिक्री गरेको पाइएको एउटा फर्ममाथि अनुसन्धान भइरहेको बताउँदै उनले अहिलेसम्म कसैलाई कारबाही नगरेको जानकारी दिए । भारतले निर्यातमा कर लगाउने निर्णय गर्नु अगावै बजारमा आइसकेका प्याजहरू बिस्तारै सकिन थालेको जानकारी आफूले पाएको उनले बताए ।
आयात कति हुन्छ ?
नेपालमा समय समयमा प्याजको अभाव भइरहन्छ । यसअघि गत जेठ महिनामा प्याजको अभाव भएको थियो र मूल्य पनि अकासिएको थियो । सरकारले तरकारी आयातमा मूल्य अभिवृद्धि कर लगाउने निर्णय गरेसँगै प्याजको मूल्य भोलिपल्टैदेखि बढ्न सुरु भएको थियो । सामान्य अवस्थामा पनि चाडपर्व नजिकिने बेला प्याजको मूल्य बढ्ने गरेको अधिकारीहरू बताउँछन् ।
वरिष्ठ कृषि अर्थविज्ञ महादेवप्रसाद पौडेलका अनुसार नेपालमा जम्मा खपतको ९० देखि ९५ प्रतिशत प्याज आयातित हुन्छ । ‘प्याजको आयात भारतबाट धेरै हुने भएकोले उसको नीतिमा परिवर्तन भएपछि त्यसको प्रत्यक्ष असर हाम्रो बजारमा देखिइहाल्छ,’ पौडेलले भने ।
कृषि तथा पशुपक्षी मन्त्रालय अन्तर्गतको राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्रका सूचना अधिकारी तोयानाथ जोशीका अनुसार वर्षैपिच्छे नेपालमा १० हजार हेक्टर जमिनमा लगाइने प्याजबाट १ लाख ६९ हजार मेट्रिक टन उत्पादन हुन्छ । नेपालमा प्याजको उत्पादकत्व अर्थात् प्रति हेक्टर करिब १२ मेट्रिक टन उत्पादन हुन्छ ।
तर नेपाली बजारको माग भने ४ लाख १ हजार मेट्रिक टन रहेको जोशीले बताए । भन्सार विभागको तथ्याङ्क अनुसार नेपालमा गत आर्थिक वर्षमा ११ करोड ७४ लाख रुपैयाँको प्याज आयात भएको थियो । त्यसमध्ये भारतबाट ७ करोड १० र चीन ४ करोड ६३ लाख रुपैयाँको प्याज आएको थियो ।
किसानलाई प्याज खेतीमा किन आकर्षित गर्न सकिएको छैन ?
आयातमा परनिर्भरता कम गर्दै लैजान नेपालमै उत्पादन बढाउनुपर्ने देखिन्छ । तर त्यसका लागि सरकारले थालेको तरकारी बालीको अभियानबाट उत्पादन बढाउन नसकिएको कृषि अर्थविज्ञ पौडेल बताउँछन् । ‘प्याज उत्पादनको अभियान नै चलाए पनि त्यो सफल हुन सकेको छैन,’ उनले भने ।
उनका अनुसार प्याजको बिउ पाउनमै समस्या छ । ‘भारतले बिउको आपूर्ति पनि निरन्तर गर्ने गरेको छैन । त्यसले किसानलाई सहजै बेर्ना पाउन पनि समस्या छ,’ उनले भने । बेर्नाको जोहो गरेर उत्पादन गरिहाले पनि आफूले फलाएका प्याज लामो समय राख्न वा बजारमा माग बढ्ने बेलासम्म जोगाउन गाह्रो छ ।
भारतले तीन वर्षअघिदेखि प्याजको बिउको निर्यातमा पनि रोक लगाएको बाली विकास केन्द्रका सूचना अधिकारी जोशी बताउँछन् । ‘बिउ उमार्नेदेखि उत्पादन गर्ने र त्यसलाई भण्डारण गर्ने यी सबैमा किसानलाई गाह्रो हुने हुँदा नेपालमा आयात धेरै मात्रामा घटाउन सक्ने गरी उत्पादन बढ्न सकेको छैन,’ उनले भने ।
प्याज लगाउने हिउँदको समयमा सिँचाइ राम्रो चाहिने र त्यो समयमा प्याज लगाउन भन्दा गहुँजस्ता अन्न लगाउन किसानलाई सहज हुने बताइन्छ । ‘प्याज त नखाए पनि हुन्छ, रोटी त खानैपर्छ । अनि लागत मूल्य कम पर्ने गहुँकै खेती किसानको रोजाइमा पर्छ,’ जोशीले भने ।
त्यसबाहेक किसानले दुख गरेर जोगाएको प्याज भारतबाट आयात हुने प्याजसँग बजारमूल्यमा प्रतिस्पर्धा गर्न नसक्ने हुँदा किसानहरू प्याज खेतीमा आकर्षित नहुने गरेको जोशी ठान्छन् । ‘प्याज जोगाउनका लागि खुला र हावा छिर्ने ठाउँ चाहिन्छ । धेरै किसानलाई त्यसको व्यवस्थापन गर्न गाह्रो हुन्छ,’ उनी भन्छन् । ‘हामीले किसानलाई यस्तो कुराहरू सिकाउनै सकेका छैनौँ ।’
उत्पादन बढाउन थालिएको अभियान किन प्रभावकारी भएन ?
सरकारले विक्रम संवत् २०६६ सालबाट प्याजको उत्पादन बढाउन अभियान थालेको थियो । नेपालमा पश्चिम रुकुमस्थित तरकारी बाली विकास केन्द्रले मात्रै प्याजको बिउ उत्पादन गर्ने बताइन्छ । उक्त केन्द्रले वार्षिक ३०० किलो बिउ उत्पादन गर्छ जुन परिमाणले किसानको माग पूरा गर्न नसकेको जोशी बताउँछन् ।
उत्पादन गरिएको बिउलाई प्रमाणित गरेर मुल बिउ बनाएपछि बल्ल किसानहरूलाई पठाउने गरिन्छ । बिउको उत्पादन बढाउन नसक्नुमा सीमित जग्गा, जनशक्ति, बजेट बाधक बनेको उनी ठान्छन् । त्यसबाहेक सङघीयतापछि कृषि क्षेत्रको संरचनामा आएको परिवर्तनका कारण पनि कतिपय अभियानलाई प्रभावकारी बनाउन नसकिएको वरिष्ठ कृषि अर्थविज्ञ पौडेल बताउँछन् ।
विगतमा प्रत्येक जिल्लामा कम्तीमा चारवटा कृषि सेवा केन्द्र थिए। त्यहाँबाट किसानहरूले सेवा लिनसक्थे । तर सङ्घीयतापछि बनेका कृषि ज्ञान केन्द्र सबै जिल्लामा छैनन् । वरिष्ठ कृषि अर्थविज्ञ महादेवप्रसाद पौडेलले भने, ‘किसानले तरकारी बाली लगाउन सरकारसँग प्रत्यक्ष सेवा लिन समस्या भइरहेको छ ।’
सत्यपाटी संवाददाता । काठमाडौं