सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानुमान

मनसुन सक्रिय हुँदा भदौरे झरी, झापा र नेपालगन्जमा धेरै वर्षा

यी भू–भागमा भारी वर्षा, दिउँसोसम्म सतर्क रहन आग्रह

न्यून चापीय रेखा नेपाल नजिक बनेको वेलामा धेरै वर्षा हुन्छ । अहिले सो रेखा नेपाल नजिक भएको कारण देशव्यापी पानी परिरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेल बताउँछन् ।

उनका अनुसार हाल नेपालको तराई क्षेत्र र भारतको उत्तर प्रदेशको उत्तर पश्चिम क्षेत्रतिर न्यून चापीय रेखा बनेको हुँदा ती प्रणालीको प्रभावले झरी परेको हो । विभागकै अर्का मौसमविद सुदर्शन पोखरेलका अनुसार न्यून चाप भएको क्षेत्रमा हावा माथि जाने प्रक्रिया धेरै हुने हुँदा वर्षाको मात्र बढ्ने गर्छ ।

‘न्यून चापीय रेखा भएको ठाउँमा मौसम सफा हुँदैन किनभने जमीन तातेर तातो हावा माथि जाने प्रक्रिया हुने हुँदा पानीको बाफ पनि माथि गएको हुन्छ । त्यसले बढी बादल बनाउने र वर्षा गराउने हुन्छ,’ पोखरेलले भने ।

न्यून चापीय रेखा नेपाल नजिक बनेको वेलामा धेरै वर्षा हुन्छ । ‘अहिले हेर्दा टर्फ लाइने भनिने वर्षाको सो रेखा नेपाल नजिक भएको कारण देशव्यापी पानी परिरहेको हो,’ उनले भने, ‘यो अहिलेको घटना मनसुनको स्वाभाविक प्रक्रिया नै हो भन्ने देखिन्छ ।’

मनसुन सक्रिय भएकाले भदौरे झरी

मौसमविद् पौडेलका अनुसार नेपालमा शुक्रबार र शनिबार पनि वर्षा निरन्तर हुने देखिएको छ । शनिबारदेखि भने बिस्तारै पश्चिम नेपालबाट मौसम खुल्दै जाने र आइतबारबाट मौसममा सुधार आउने देखिएको पौडेल बताउँछन् ।

‘लगातार पानी परेर एकदुई स्टेशनबाहेक कतै पनि भारी वर्षा रेकर्ड भएको छैन,’ उनी भन्छन्, ‘स्वभाविक र औसत वर्षा भइरहेको देखिन्छ । यसलाई मध्यम वर्षा मान्न सकिन्छ ।’ पौडेलका अनुसार अहिले पनि मनसुन सक्रिय भइरहेकाले भदौरे झरी परेको हो ।

मनसुनको अवधि अक्टुबर २ सम्मै बाँकी रहेकाले फेरिफेरि झरी पर्न सक्ने पनि उनले बताए । यद्यपि, विगतका वर्षभन्दा अहिले भने पानी पर्ने तालिका भने बदलिएको मौसमविद् पौडेल बताउँछन् ।

‘पानी पर्ने प्याटर्न फरक हुँदै गएको छ । विगतमा लगातार ६–७ दिन झरी पर्थ्यो,’ पौडेल भन्छन्, ‘पछिल्ला वर्ष एक–दुई दिन मज्जाले वर्षा भएर बाढीपहिरो आउने अनि फेरि सुक्खा हुने प्रवृत्ति देखिएको छ ।’

मौसमविद् पोखरेलका अनुसार मंगलबार बाँके, कास्की क्षेत्रमा धेरै वर्षा भएको थियो । बुधबार झापा, नेपालगन्ज क्षेत्रतिर धेरै वर्षा भएको र बिहीबार झापाको दमक क्षेत्र, लमजुङको खुदी बजार, नवलपरासी र बर्दघाट पूर्वको क्षेत्रमा धेरै पानी परेको देखिएको पोखरेलले बताए ।

महाशाखाका अनुसार आज शुक्रबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा मधेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित धेरै वर्षा हुनेछ ।

यी भू–भागमा भारी वर्षा, दिउँसोसम्म सतर्क रहन आग्रह

देशका विभिन्न भागमा गएरातिदेखि भारी वर्षा भएको छ । केही भू–भागमा भारी वर्षामापन गरिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । कैलालीको टिकापुर, चिसापानी लगायत आसपासको स्थानमा भारी वर्षा मापन भएको छ । थप वर्षा हुने सम्भावना रहेकाले स–साना नदीमा बहाव बढ्नसक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

लमजुङको खुदीबजार र आसपासको स्थानमा पनि भारी वर्षा भएको छ । खुदीखोलालागायत लमजुङ तथा आसपासका साना नदीमा तथा खोलामा आकस्मिक बाढीको जोखिम रहेको छ । बेशिसहर–चामे सडकखण्डमा पहिरोको जोखिम रहेकाले बिहान ९ बजेसम्म सतर्क रहनुपर्ने महाशाखाले जनाएको छ ।

दूधकोसी नदी रबुवाबजार बाढीमापन केन्द्र, ओखलढुङगामा जलसतहले सतर्कता तह पार गरेको छ । जलसतह बढ्ने क्रममा रहेकाले दूधकोसीको सुनकोशी दोभानसम्मको नदीतटीय क्षेत्रहरूमा बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउनु पर्ने महाशाखाको भनाइ छ ।

यी प्रदेशमा आज भारी वर्षाको सम्भावना

कमला नदी, रानीवास सिन्धुली जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास पुगेको छ । जलसतह बढ्दो क्रममा रहेको छ । कमला बेलसोत उदयपुरमा पनि जलसतह बढिरहेको छ । सिन्धुली, उदयपुर, धनुषा र सिराहाको तटीय क्षेत्रलगायत डुबान भइरहने होचा स्थानमा रहनेले बिहान ११ बजेसम्म सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।

दार्चुला, म्याग्दी, कास्की, बारा, मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोक, दोलखा, ओखलढुंगा, खोटाङ, उदयपुर, धनुषा, इलाम तथा आसपास केही स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको छ । स–साना नदीमा जलसतह बढ्ने, केहीमा आकस्मिक बाढीको जोखिम तथा कमजोर र भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले दिउँसोसम्म सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा आज बिहान वर्षा भइरहेको छ ।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार ०८:४३