सूचनाको शक्ति - The Power Of Information

        

सशस्त्र प्रहरीमा १७ वर्षपछि एकैपटक साढे छ हजारको बढुवा

सशस्त्र प्रहरी बल नेपालमा १७ वर्षदेखिको बढुवा जाम खुलेको छ । सशस्त्र प्रहरी बलमा हवल्दारदेखि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सम्मको बढुवाको जाम खुलेको हो । जसअनुसार सशस्त्रमा एकैपटक करिब साढे ६ हजार प्रहरीको बढुवा हुँदैछ ।

सशस्त्र प्रहरी बलले गत साउनदेखि बढुवाको सूचना निकालेर बढुवाको जाम खुलेको संकेत गरेको थियो । सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकदेखि सशस्त्र प्रहरी सहायक हवल्दारसम्म बढुवाका लागि सूचना प्रकाशित गरेको छ ।

केही पदमा समायोजनको प्रक्रियाका कारण लामो समयदेखि बढुवा अवरुद्ध थियो । सरकारले केही पद समायोजनको स्वीकृत दिएसँगै बढुवाअघि बढेको थियो । सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) राजु अर्यालले लामो समयदेखि जाम रहेको बढुवा प्रक्रियालाई गृह र अर्थमन्त्रालयसँग समन्वय गरी दरबन्दी मिलान गरेर सरल ढंगले खुलाइदिएका हुन् ।

आइजीको जिम्मेवारी लिएदेखि नै सशस्त्र प्रहरी कर्मचारीका निम्ति सुलभ अवस्था, नयाँ संस्कार स्थापित गरेका आईजी अर्यालले सरुवा र बढुवामा पनि न्यायको नयाँ रीत कोरिरहेका छन् । मंगलबार मात्र ५६ जना प्रहरी उपरीक्षक (एसपी) मा र ८४ जना नायव उपरीक्षक (डीएसपी) मा बढुवाको लागि नाम सिफारिसको निर्णय गरेर आइजी अर्यालले १७ वर्षदेखिको जाम खुलाएका थिए ।

बढुवा हुने एसपी सी.सं ३ र डीएसपी सी.सं. ७ का रहेका छन् । २०६० भदौ २९ गते भर्ना भएका सीसं ३ इन्स्पेक्टर टोलीबाट यसअघि २९ जना एसपी भइसकेका छन् भने बाँकी रहेका सबै ५६ जना मंगलबार एसपी भएका हुन् । २०६४ सालको सीसं ७ बाट यसअघि ५६ जना डिएसपीमा बढुवा भइसकेको छन् भने मंगलबार बाँकी ८४ जना बढुवा भएका हुन् ।

यसैगरी २०६६ मंसीर २१ गते भर्ना भएका सीसं ८ सशस्त्र प्रहरी निरीक्षकको टोलीबाट ११ जनासमेत डीएसपी भएका छन् । डीएसपी भएका दुवै टोलीबाट योग्यता, कार्यक्षमता, तालिम, कार्यसम्पादन मूल्याङ्कनलाई आधार बनाएर गरिएको छ । अर्यालले नेतृत्व लिएपछि एसएसपीदेखि सहायक हबल्दारसम्म ६ हजार ४ सय १३ जना कर्मचारीको एकैपटक बढुवा भएको छ ।

यसपटक ओ एण्ड एम नभएको भए डीएसपी र एसपी बढुवाका लागि अझ ४ वा ५ वर्ष कुर्नुपर्ने अवस्था थियो । करिब १ महिनाको बीचमा एसएसपी १२, एसपी ५६, डीएसपी ८४, इन्सपेक्टर ७३, वरिष्ठ सई ५०, सई १४३, असई ८२, वरिष्ठ हबल्दार ११८, हवल्दार १ हजार ९२५ र सहायक हवलदारमा ३ हजार ८७० गरी कुल ६ हजार ४१३ जना बढुवा हुँदैछन् ।

सशस्त्र प्रहरी बलले पहिले खाली रहेको ४ वटा र नयाँ थप भएर आएका ११ वटा दरबन्दी गरी १५ दरबन्दीमा एसएसपीको बढुवा गरिएको छ । लामो समयदेखि दरबन्दी नपाएका शिक्षालयका लागि एसएसपी र एसपीहरूको दरबन्दी थप भएको थियो ।

हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालय लामापाटन पोखरा, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, जवान तालिम शिक्षालय नौवात्रा बाँके, यूएन शान्ति स्थापना तालिम शिक्षालय ककनी र सीमा सुरक्षा तालिम शिक्षालय बडेघाट नवलपरासीमा एसएसपी रहने छन् ।

पाथीभरा जवान तालिम शिक्षालय झापा, प्राविधिक तालिम शिक्षालय बारा, पर्वतीय उद्धार तालिम शिक्षालय मनाङ, बडिमालिका जवान तालिम शिक्षालय कैलाली, राजस्व भन्सार तालिम शिक्षालय टीकापुर कैलाली र दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीमा सशस्त्र प्रहरी उपरीक्षक (एसपी)को दरबन्दी थप भएको थियो ।

प्रस्तावित ४५ वटा सीमा सुरक्षा गुल्मका लागि पनि डीएसपीको दरबन्दी खाली रहँदै आएको थियो । गत साउन ३ गतेको मन्त्रिपरिषद् बैठकले एसएसपी ११ जना, एसपी ४३ जना, सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) ३१ जना, सशस्त्र प्रहरी उपरीक्षक (इन्स्पेक्टर) ७२ जना र सशस्त्र वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई) ४८ जनाको दरबन्दी समायोजन र थप गरेको थियो ।

९८ वटा दरबन्दी थपिएका हुन् भने बाँकी तल्लो तहको काटेर माथिल्लो तहमा समायोजन गरिएको थियो । दरबन्दी थप र समायोजनपछि अब १५ जना एसएसपी, ६३ जना एसपी, १०३ जना डीएसपी, ५१ जना इन्स्पेक्टर, ४९ जना वरिष्ठ सई, ६८ जना सई, २१० जना असई, २२४ जना वरिष्ठ हबल्दार, २ हजार १२८ जना हवल्दार र ४ हजार जना सहायक हवल्दारमा बढुवा हुने छन् ।

योपटक १७ वर्षदेखि रोकिएका सीसं नम्बर ७ इन्स्पेक्टरहरू डीएसपीमा बढुवा हुने भएका छन् भने सीसं नम्बर ८ का ११ जना बढुवा भएका छन् । सशस्त्र प्रहरीले आर्थिक वर्ष २०७९–०८० मा १ हजार ६६२ जनाको बढुवा गरेको थियो । जसमा सशस्त्रका एआईजी १ जना, डीआइजी ४ जना, एसएसपी २० जना, एसपी १२ जना, इन्स्पेक्टर १०३ जना, असई १३३ जना, सई १५२ जना, वरिष्ठ हवल्दार १ हजार २१४ जना र सहायक हवल्दार १६ जना बढुवा भएका थिए । ८ जनालाई विशेष बढुवा दिइएको थियो, जसमा एसपी १ जना, डीएसपी ५ जना र इन्स्पेक्टर २ जना थिए ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार ०८:०७