सूचनाको शक्ति - The Power Of Information

        

क्रिकेट मैदानको बस्ति नहटाउन क्रान्तिकारीको चेतावनी

कोहलपुर क्रिकेट मैदान क्षेत्रमा बसोवास गर्दै आएका ब्यक्तिहरूको उचित ब्यवस्थापन बिना घरटहरा नहटाउन कोहलपुर नगरपालिकालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बाँकेले चेतावनी दिएको छ ।

बिशाल खाँद्धारा हस्ताक्षरित एक बिज्ञप्ति जारी गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बाँकेले स्थानियहरूलाई उचित ब्यबस्थापन नगरी चालिने कदम आफुहरुलाई सह्यै नहुने बताएको हो ।

यसअघि कोहलपुर नगरपालिकामा भएको सर्वपक्षीय सर्वदलीय बैठकले कोहलपुर नगरपालिका वडा नं. ११ मा रहेको क्रिकेट मैदान वरपर अव्यवस्थित रूपमा निर्माण गरीएका घर टहरा हटाउने निर्णय गरेको थियो ।

भुमिहिन, सुकुम्वासिहरुको आबश्यक पहिचान नगरि नगरपालिकाले सर्वदलिय, सर्वपक्षिय बैठकको नाममा सात दिने सुचना निकाल्दै बल गरेर उक्त स्थानका घर टहरा हटाउन खोजेको भन्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले कोहलपुर नगरपालिकालाई चेतावनि दिएको हो ।

“कोहलपुर नगरपालिका वडा नं ११ मा रहेको शान्ति नगर बस्तीमा विभिन्न ठाउहरुबाट लामो समय देखि भुमिहिन, गरिब तथा निमुखा बर्गका विभिन्न नागरिकहरुको बसोबास रहेको अवस्थामा बस्तिलाइ उचित व्यवस्थापन नगरि विस्थापित गर्ने तयारीका साथ स्थानीय सरकार र केही कथित राजनैतिक दल बसी वस्तिलाई जवरजस्ति उठाउने निर्णय गरेकाले यस निर्णयको हाम्रो पार्टी घोर भर्त्सना गर्दछ” पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा अगाडि लेखिएको छ, “यस नगरपालिकाभित्र रहेका सुकुम्बासी, भुमिहिन र अव्यवस्थित बसोवास गरि रहेका नागरिकलाई बैकल्पिक व्यवस्थापन गरि बस्तिलालाई व्यवस्थित गर्न माग गर्दैछौ, साथै केही राजनैनिक दल नामक भ्रष्टहरुको दबाबमा परेर उक्त बस्तीको नागरिक लाई दुःख सास्ती दिने काम नगर्न अनुरोध गर्दछौ । अन्यथा जनताको बिचमा रहेर अनवरत रुपमा संघर्ष गर्ने चेतावनी दिन चाहन्छौं ।”

यसैविच क्रान्तिकारी कम्युनिस्ट पार्टी बाँकेका संयोजक बिशाल खाँले यथाशिघ्र संघर्ष समिती गठन गरि भुमिहिन सुकुम्वासिहरुको पक्षमा शंघर्ष गर्ने बताएका छन । उनले संघर्ष समिति बनाएर संघर्षका कार्यक्रम घोषण गरीने बताउँदै न्यायोचित ब्यबस्था नहुन्जेलसम्म क्रिकेट मैदान वरपर बसेकाहरुलाई हटाउन खोजे जुनसुकै परिणाम आउन सक्ने र त्यस्तो परिणामको जिम्मा नगर प्रमुख र नगरपालिकाले लिनुपर्ने चेतावनी दिएका छन् ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार १८:०४