नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचनमा महासचिव पदको पुनः मतगणना कार्य तीन दिनलाई स्थगित गरिएको छ । निर्वाचन आयुक्त टिकाजंग सिंह अस्वस्थ भएर अस्पताल भर्ना भएपछि महासचिव पदको पुनः मतगणना कार्य तीन दिनलाई स्थगित गरिएको जनाइएको छ ।
सिंहले मंगलवार एक सूचना निकालेर आफू अस्वस्थ भएर अस्पताल भर्ना भएकाले तीन दिनसम्म निर्वाचनका बाँकी कार्यहरु तीन दिनका लागि स्थगित गरिएको उल्लेख गरेका छन् ।
चिकित्सकको सल्लाह अनुसार तीन दिनसम्म अस्पतालमै भर्ना भएर उपचार गर्नुपर्ने भएकाले तीन दिनसम्मका लागि निर्वाचन सम्बन्धि बाँकी कार्यहरु स्थगित गरिएको निर्वाचन आयुक्त सिंहले जानकारी दिएका छन् ।
महासचिव पदका उम्मेदवार टंकप्रसाद शर्माले पुनः मतगणनाको माग गर्दै निर्वाचन समितिलाई निवेदन दिएपछि पुनः मतगणना गर्ने निर्णय थियो ।
निर्वाचन आयुक्तको कार्यालयबाट हिजो एक सूचना जारी गर्दै आयुक्त सिंहले महासचिवका उम्मेदवार शर्माले मतगणना कार्यमा चित्त नबुझेको भन्दै मतपरिणाम घोषणा हुनु पूर्व नै निवेदन दिएकाले मंगलवार विहान ८ बजेदेखि पुनः मतगणना गर्ने जानकारी दिएका थिए ।
महासचिव पदको सम्पूर्ण मतगणना नगरी जबर्जस्ती ढंगले निर्वाचन आयुक्त शाहले अन्तिम मतपरिणाम घोषणा गरेको भन्दै पुनः मतगणनाको माग गरी निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरिएको गरिएको थियो ।
केही मतपत्र गन्न बाँकी छँदै समावेशी प्यानलका भिमबहादुर रानाभाटलाई विजयी भएको घोषणा गरिएको भन्दै पुनः मतगणनाको माग गरिएको थियो ।
साझा प्रजातान्त्रिक समूहबबाट महासचिवमा शर्माले प्रतिष्पर्धा गरेका थिए । निर्वाचन समितिले रानाभाटलाई ६ मतले विजयी भएको घोषणा गरेको थियो ।
सत्यपाटी संवाददाता । बाँके