आठ वर्षअघि अर्थात् २०७२ साउन २३ गतेदेखि सुर्खेतमा ‘अखण्ड मध्यपश्चिम’को आन्दोलन चर्कियो । २०७२ साल साउन २१ गते नेपाल सरकारले सङ्घीयता निर्माणका लागि ६ प्रदेशको सीमाङ्कसहितको खाका सार्वजनिक गर्दै साबिकका भेरी र कर्णाली अञ्चललाई सुदूरपश्चिम प्रदेशमा मिसाउने केन्द्रीय सरकारले निर्णय जारी गर्यो ।
सरकारको उक्त निर्णयले साबिक भेरी र कर्णाली अञ्चलका नागरिकलाई उपयुक्त भएन । उक्त निर्णय विरोधमा विद्यार्थी, बुद्धिजीवी, शिक्षक तथा नागरिक अगुवाहरू आन्दोलनको घोषणामा उत्रिएका थिए । बाँके र बर्दियाबाहेक साविकका भेरी अञ्चलका तीन र कर्णालीका पाँच जिल्ला सुदूरपश्चिमतिर गाँभेपछि सुर्खेतमा आन्दोलन चर्कियो ।
बाँके, बर्दियासहित साबिक ‘अखण्ड मध्यपश्चिम’का लागि सिङ्गो भेरी, कर्णालीका नागरिकहरूको भिड सडकमा सरकारको निर्णयविरुद्ध ओर्लियो । अखण्ड मध्यपश्चिम नै हुनुपर्छ, हामीलाई सिरदेखि पाउँसम्मको भूगोल चाहिन्छ भन्दै आन्दोलन चर्कियो । आन्दोलन अखण्ड मध्यपश्चिम र प्रादेशिक राजधानीको मुद्दामा केन्द्रित भयो ।
अखण्ड मध्यपश्चिम र प्रादेशिक राजधानीको मुद्दालाई सुर्खेती जनता लगायत कर्णालीवासीले एकमतले अनुमोदन गरे । नागरिक समाजका केही अगुवाहरूले सङ्घर्ष समितिको गठन समेत गरी सरकारविरुद्ध थप आन्दोलनका घोषणा गर्न योजना समेत बनाएँ । हाल कर्णाली प्रदेशका दैलेख, कालिकोट, जुम्ला र सुर्खेत जिल्लाका विभिन्न ठाउँमा आन्दोलन चर्कियो ।
यसरी साउन २२ र २३ गते हुँदै हालको कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा उर्लिएको आन्दोलनले जिल्ला प्रशासन कार्यालयमा क्षतिसमेत हुन पुग्यो । आन्दोलनकारीले विभिन्न नेताहरूका घरमा तोडफोड गर्न थालेपछि प्रहरीले भीड नियन्त्रणमा लिन बल प्रयोग गर्दा आन्दोलनमा सहभागी भएकामध्ये सुर्खेतमा तीन र जुम्लामा एक जनाको ज्यान गयो ।
उनीहरुको मृत्युपछि अखण्ड मध्यपश्चिम र प्रादेशिक राजधानीको मुद्दाको आन्दोलन दिनप्रतिदिन चर्किँदै गयो । उक्त आन्दोलनको नियन्त्रण नभएपछि आन्दोलनमा एकैदिन अर्थात् साउन २५ गते तीन जनाको मृत्यु भयो । उक्त आन्दोलनलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर सुर्खेतका टीकाराम गौतमको घटनास्थलमै ज्यान गएको थियो ।
सुर्खेतका यामबहादुर बिसी वीरेन्द्रनगरको धमलाचोक नजिकै रहेको अवस्थामा प्रहरीले चलाएको गोली लागेर ढले । सुर्खेतको मंगलगढी चोकमा आएको आन्दोलनले गोपालसिंह रजबार भाग्ने क्रममा प्रहरीले प्रहार गरेको गोली लागेर सदाका लागि उनी पनि बिदा भए । साबिक कर्णालीका पाँचै वटै जिल्लामा आन्दोलन झन्झन् चर्किँदे गयो ।
जुम्लामा पनि प्रहरीले आन्दोलनकारीलाई दमन गरी चलाएको गोली लागेर हरिबहादुर कुँवर घाइते भए । घाइते कुँवरलाई उपचारको लागि काठमाडौँ पुर्याइयो । गम्भीर घाइते कुँवरले साउन २६ गते शिक्षण अस्पताल महाराजगन्जमा उपचारको क्रममा ज्यान गुमाए । उनको मृत्युपछि जुम्लामा ‘बरु रोटी खाँदैनौँ हामी डोटी जाँदैनौँ’ भन्ने नारा चर्कियो ।
आन्दोलन झन्झन् चर्किँदै गएपछि नेपाल सरकारले २०७२ भदौ ४ गते भेरी र कर्णालीका १० जिल्लालाई नयाँ सिमाङ्कन गर्दै ६ नम्बर प्रदेशको घोषणा गर्न बाध्य भयो । पछि सरकारले चारै जनालाई सहिद घोषणा गर्यो । नेपालमा भएका विभिन्न आन्दोलनहरूमा शहादत प्राप्त गरेकाहरूको लाइनमा तत्कालीन कर्णालीबाट चार जनाको नाम समेत थपियो ।
सहिद परिवार बेखुश
फाइल तस्वीर
चार जना सहिदको बलिदानीका कारण अहिले कर्णाली प्रदेश प्राप्त भएको सहिद परिवारका सदस्यहरु बताउँछन् । प्रत्येक वर्ष साउन २५ गते आउँदा सहिद यामबहादुर बिसीका परिवारलाई स्वर्गीय यामबहादुरको यादले सताउँछ । उनीहरुकै योगदानले प्रदेश प्राप्ती भए पनि प्रदेश सरकारले बलिदानीको कदर नगरेको उनीहरुको गुनासो छ ।
सहिद यामबहादुर बिसीकी बहिनी भगवती बिसी भन्छिन् ‘मेरो दाईसँगै अन्य तीन जनाको बलिदानले ‘कान्छो प्रदेश’ बन्यो । धेरै व्यक्तिहरू सत्तामा पुगे । सहिदका घर परिवारको अवस्था नाजुक बन्दै गइरहेको छ ।’ उनीहरुकै योगदानले प्रदेश प्राप्ती भए पनि प्रदेश सरकारले बलिदानीको कदर नगरेको विसी बताउँछिन् ।
भगवतीले थपिन् ‘केही व्यक्तिहरू हाल पनि सत्तामा पुग्नकै लागि कर्णालीमा लुछाचुँडी गर्दैछन् । तर, सहिदका घर परिवारको अवस्था हेर्दा शान्तिको श्वास फेर्ने अवस्था छैन, मेरो दाई सहिद भएको पनि सात वर्ष बित्यो, घरपरिवारमा आजसम्म खुसी पाएको छैन ।’ प्रदेश प्राप्तिका लागि भएको आन्दोलनले साउन २५ बाट आठ वर्ष पुरा गरेको छ ।
तिनै सदिहको बलिदानीबाट जन्मिएको प्रदेशको सत्ताको वागडोर सम्हालिरहेका राजनीतिक नेतृत्वले सहिद परिवारलाई उपेक्षा गरेको गुनासो छ । पीडित परिवारहरूले आफ्नो परिवारको सदस्य गुमाउनेहरूको घाउमा अझैसम्म पनि मलहम लाग्न नसकेको परिवारको गुनासो छ । कर्णाली जन्माउने सहिदलाई कर्णाली प्रदेश सरकारले बिर्सिँदै गएको परिवारको गुनासो छ ।
सहिद यामबहादुरकी बहिनी भगवती भन्छिन्, ‘प्रदेश सरकारले हामीलाई दिएको आश्वासन अनुसार काम नहुँदा पीडा बोध हुन्छ । आजको दिन इतिहासकै कालो दिन हो, इतिहास र सहिदको रगतको अपमान हुनु भनेको हाम्रो अस्तित्व सकिनु हो ।’ उनले अधिकार प्राप्तिको लडाइँमा रगत बगाएका सहिदलाई सरकारले अपमान गरेको दुखेसो पोखिन् ।
सहिद टीकाराम गौतमका छोरा वीरेन्द्रनगर–४ निवासी अमृत गौतम सरकारले छात्रवृत्तिका नाममा २४ हजारबाहेक अन्य सहयोग नगरेको गुनासो गर्छन् । सहिदका परिवारलाई छात्रवृत्ति, औषधी उपचार, आयआर्जन तथा रोजगारी दिइने भनिएको थियो । तर, त्यो गफैमा सीमित भएको अमृतको गुनासो छ । उनकी आमा दुर्गादेवी गौतम दीर्घरोगी छिन् ।
मुटुको भल्व परिवर्तन गरेकी दुर्गादेवीलाई अहिले उपचारमा समस्या भइरहेको छ । आम्दानीको मुख्य स्रोत कृषि रहेको टिकारामको ६ जनाको परिवार उनकै कमाइले पालिरहेको थियो । अहिले उनको परिवार निकै ठूलो समस्यामा परेको छ । सहिद परिवारलाई अहिले पनि दैनिकी चलाउन धौ–धौ परिरहेको सहिद परिवारका सदस्यहरु बताउँछन् ।
यता कर्णाली सरकारले सहिदको बलिदानीको खेर जान नदिएको र उनीहरुका मागहरुलाई क्रमिक रुपमा सम्बोन्धन गरिरहेको कर्णाली प्रदेश सरकारका प्रवक्ता कृष्णबहादुर जिसी बताउँछन् । सहिदकै बलिदानबाट प्रदेश प्राप्ती भएकाले भदौ ४ गते शहिद दिवस मनाउने र प्रदेशभरी सार्वजनिक विदा दिएको कर्णाली सरकारका प्रवक्ता जिसीले जनाए ।
प्रदेश प्राप्तिको आन्दोलनमा राज्य पक्षको गोली लागि सहादत प्राप्त गर्ने चार जनालाई कर्णाली सरकारले उच्च सम्मान गरिरहेको उनले बताए । कतिपय मागहरु क्रमिक रुपमा पूरा हुन्छन् ति मागलाई सम्बोन्धन गर्न सरकार प्रतिवद्ध रहेको आन्तरिक मामिला तथा कानून मन्त्रीसमेत रहेका कर्णाली सरकारका प्रवक्ता जिसीले उल्लेख गरे ।
उनले सहिद दिवसको दिन विशेष कार्यक्रमको आयोजना गर्दै आएको र शहिद परिवारलाई यो वर्ष पनि सम्मान गर्ने कार्यक्रम रहेको जानकारी दिए । सहिदहरुको सम्झानार्थ वीरेन्द्रनगरमा निर्माण गरिएको शहिद पार्क निर्माण गरिएको छ । यद्यपी सहिद परिवारहरुले सहिदहरुको पूर्ण कदको शालिक निर्माण गरिदिन अपिल गरिरहेका छन् ।
सत्यपाटी संवाददाता । कर्णाली