सूचनाको शक्ति - The Power Of Information

        

टिकटक देखाएर बहिनीलाई बलात्कार

काभ्रेको बनेपा–११ जनागालमा १७ बर्षिया बहिनीलाई टिकटक देखाउन बोलाउँदै जर्बजस्ती करणी गरेको अभियोगमा १८ वर्षीय दाजु पक्राउ परेका छन् । हाडनाता करणी अभियोगमा पक्राउ परेका युवाको दुई महिनाको गर्भ प्रहरीले अदालतको अनुमतिमा पतन गराएको छ ।

प्रविधिको सहज र सरल पहुँचका कारण बालबालिकाहरु यस्ता गलत कृयाकलापमा लाग्ने गरेको खुलेको छ । जिल्लाको तथ्याङ्कमा जबर्जस्ती करणीसम्बन्धी अपराधमा बृद्धि भएको छ । आर्थिक वर्ष २०७९–०८० मा जबर्जस्ती करणी उद्योगमा १, करणीमा ३७, बाल यौन दुराचारमा १०, अप्राकृतिक मैथुन अभियोगमा २ थान गरी ५० वटा मुद्दा दर्ता भएका छन् ।

आर्थिक वर्ष २०७८–०७९ मा जबर्जस्ती करणी उद्योगमा ३, करणीमा २९ वटा, बाल यौन दुराचारमा ३ थान गरी ३५ वटा मुद्दा दर्ता भएका थिए । आर्थिक वर्ष २०७७–०७८ मा जर्बजस्ती करणी उद्योगमा ६, करणीमा २६, बाल यौन दुराचारमा ३ गरी ३५ थान मुद्दा दर्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा दर्ता भएका मुद्दाहरुको तथ्याङ्कले आत्महत्या विगतका वर्षहरुमा घटेको देखिएको छ भने जर्बजस्ती करणीका घटनामा बृद्धि भएको छ । आर्थिक वर्ष २०७९–०८० मा ८५ जनाले आत्महत्या गरेका छन् । जसमा झुण्डिएर ७१ जना र विष सेवनबाट १४ जनाले ज्यान फालेका छन् ।

आर्थिक वर्ष २०७८–०७९ मा ८९ जना झुण्डिएर र २३ जना विष सेवनबाट गरी ११२ जनाले आत्महत्या गरेका थिए । आर्थिक वर्ष २०७७–०७९ मा झुण्डिएर ९३ जना, विष सेवनबाट ४२ जना र हाम फालेर १ जना गरी १३८ जनाले ज्यान गुमाएका थिए ।

तीन वर्षको तुलनामा क्रमशः आत्महत्या गर्नेको संख्या कम भए पनि भुम्लुमा १० वर्ष र बनेपा–१२ महेन्द्रज्योती बाँस्डोलमा १२ वर्षीय बालकले आत्महत्या गरेका छन् । सचेतना कार्यक्रम तथा मानसिक स्वास्थ्य सेवालाई प्रभावकारी बनाउँदै लगिएका कारण आत्महत्या कम भएको हुन सक्ने विश्लेषकहरुले बताए ।

चेक अनादर तथा सहकारीसम्बन्धी मुद्दाको संख्या थपिँदा प्रहरीको तथ्याङ्कमा मुद्दा दर्ताको संख्या बढेको देखिएको छ । तथ्याङ्कका आधारमा केही अपराध घटेका छन् । आत्महत्याको दर घटेको छ भने बालविवाहका मुद्दा दर्ता भएका छैनन् । बोक्सीको आरोप, अपहरण तथा शरिर बन्धक लगायतका घटना यो वर्ष भएनन् ।

३९ प्रकृतिका अपराधका शीर्षकमा दर्ता भएका मुद्दामा प्रहरीले अनुसन्धान जारी राखेको छ । आर्थिक वर्ष २०७९–०८० मा काभ्रे प्रहरीले १५६ जना फरार अपराधी पक्राउ गरेको छ । उनीहरुबाट ३३ वर्ष १ महिना २४ दिनको कैद असुल भएको छ भने १ करोड २९ लाख ९३ हजार तिराइएको छ । अघिल्लो वर्ष १०६ जना फरार अपराधी पक्राउ परेका थिए ।

प्रकाशित मिति : २ भाद्र २०८०, शनिबार १७:०५