सूचनाको शक्ति - The Power Of Information

        

बक्रदृष्टि

ल्हारक्यालका प्रवक्ता बन्नुपर्दा पर्यटनमन्त्री लाजले भुतुक्कै

ल्हारक्यालको प्रवक्ताजस्तो बनेर मन्त्रीले जवाफ फर्काउनुपर्दा मन्त्री किराती लाजले भुतुक्कै भएका छन् ।

लार्केलका प्रवक्ता

लुम्विनी विकास कोषको उपाध्यक्षमा विवादास्पद ल्हारक्याल लामालाई नियुक्त गरेपछि पर्यटनमन्त्री सुदन किराती पुर्पुरोमा हात राखेर बस्न थालेका छन् । दिनको दशपटक पत्रकारहरुले फोन गरेर हैरान छ ।

ल्हारक्यालको प्रवक्ताजस्तो बनेर मन्त्रीले जवाफ फर्काउनुपर्दा मन्त्री किराती लाजले भुतुक्कै भएका छन् । त्यही भएर होला एक जना पत्रकारले लार्केलको बैंक लकरमा १४ वटा गोली फेला पर्यो नि भनेर प्रश्न सोध्दा, मन्त्री किरातीले झोक्किदै भने, मैले गोली देखेको छैन भन्दा कान्तिपुरका सुरज कुँवर ट्वाँ परे ।

एमाले वायु पुत्र

एमाले अध्यक्ष केपी ओलीले हरेक भाषणमा नयाँनयाँ उट्पट्याङ कुरो झिकेर कार्यकर्तालाई हँसाउँछन् । त्यसैमा एमाले कार्यकर्ताहरु पनि दंग छन् । गत साता एमालेको एउटा कार्यक्रममा ओलीले एमाले अरुजस्तो लारालुरे पार्टी होइन, एमाले त वायु पुत्र हुनमान हो, जो हावामा उड्छ भन्दा एमाले कार्यकर्ताले तर्रर ताली ठोकेको देखेर प्रदीप ज्ञवाली पेट मिचीमिची हाँसे ।

प्रचण्डको निर्देशन

कांग्रेस, एमाले, समाजवादी सबै पार्टी आ–आफ्नो केन्द्रीय कमिटीको बैठकमा व्यस्त छन् । माओवादी अध्यक्ष प्रचण्ड हालैको केन्द्रीय कमिटीको बैठक सकेर हाइसञ्चो मानिरहेका छन् । प्रचण्डले कार्यकर्ताहरुलाई तीन महिनाभित्र गाउँका जनताको घरघर गएर जागरण अभियान सञ्चालन गर्ने निर्देशन दिए ।

प्रचण्डको निर्देशन सुनेर ओम शर्माले भन्दै थिए, गाउँमा मान्छे भए पो घर घर जानु । युवा जति खाडी पसिसके, रित्तो घर डुलेर के को जागरण अभियान भन्दा महेश्वर दाहालले जिब्रो टोके ।

सुनिलबहादुर थापा जिल्ल

बोहराटारबाट बालुवाटार सर्ने रामचन्द्र बाजेको सपना यो जुनीमा सपनै भयो । तै पनि प्रचण्डको कृपाले राष्ट्रपति भा’ छन् । राष्ट्रपति भएर पनि सुख कहाँ छ र ? बिरामी भएको भई दिल्ली उपचार गर्न जाँदा आफ्नै सल्लाहकारले उपचार खर्च आफैँले व्यहोर्नुपर्छ भने ।

विज्ञप्ति पनि निकाले । अहिले परराष्ट्रले अर्थसँग ५५ लाख उपचार खर्च माग्दा तिनै सल्लाहकारले त्यो पैसा त कहाँ उपचारको हो र ? त्यो त एयर एम्बुलेन्सको खर्च हो भन्दा रामचन्द्र बाजे अक्क न बक्क परेको देखेर सुनिलबहादुर थापा जिल्ल परेका छन् ।

स्रोत : दृष्टि न्यूज
प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार ०८:५९