सूचनाको शक्ति - The Power Of Information

        

गत आवमा ८२० किलोमिटर सडक कालोपत्र, २२२ पुल निर्माण

सरकारले गत वर्ष देशभरमा ८२० किमी सडक कालोपत्र र २२२ पुल निर्माण गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार सो अवधिमा २४९ किमी सडक पुनः निर्माण भएको छ ।

गत वर्ष २४३ किमी नयाँ ट्र्याक खुलेको र ६२८ किमी खण्डस्मिथ भएको विभागले जनाएको छ । गत वर्ष ७६१ किमी सडक आवधिक मर्मतको लक्ष्य रहेकामा ५३८ किमी सम्पन्न भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले विभिन्न किसिमका अवरोध हुँदहुँदै पनि सडक विभागको प्रगति झण्डै ६९ प्रतिशत पुगेको बताए । उनले भने, ‘चालु वर्ष समयमा कामको प्रगति अझै बढाइनेछ ।’

अझै पनि अपेक्षा गरेअनुसार पूर्वाधार क्षेत्रमा प्रगति नभएको विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताए । अन्तिम चौमासिकमा बजेट व्यवस्थापन हुन नसक्दा कामको प्रगति जति हुनसक्थ्यो त्यति हुन नसकेको उनको भनाइ छ ।

उनले भने, ‘विभागले ८० प्रतिशत प्रगति हुने अपेक्षा गरेको भए पनि त्योअनुसार हुनसकेको छैन ।’ राष्ट्रिय गौरबका आयोजनामा प्रगति राम्रो रहेको विभागले जनाएको छ । नागढुङ्गा–नौबिसे सडकखण्ड स्तरोन्नतिको काम जारी रहेको विभागले जनाएको छ ।

सो सडकखण्डमा तीन प्याकेजमा ठेक्का भएर काम सुरु भएको विभागले जनाएको छ । पूर्व–पश्चिम राजमार्गको काँकडभिट्टा–लौकही सडक स्तरोन्नतिका लागि ठेक्का व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ ।

कमला–ढल्केबर–पथलैया सडक स्तरोन्नतिका लागि पूर्व तयारीको काम सम्पन्न गरेर निर्माणका लागि खरिद प्रक्रिया तयारी भएको छ । तमोर करिडोर अन्तर्गत मूलघाट–सुभाङ्गखोला खण्डको ठेक्का व्यवस्थापनको काम सम्पन्न भएर निर्माणको काम सुरु भएको छ ।

ग्वार्खो ‘फ्लाइओभर’को निर्माण भइरहेको र सातदोबाटो र एकान्तकुनामा ‘फ्लाइओभर’ निर्माणका लागि बहुवर्षीय ठेक्का र स्रोत सुनिश्चितताको लागि सहमति माग गरिएको छ । अरनिको राजमार्गको सूर्यविनायक–धुलिखेल सडक निर्माण भइरहेको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहीबार १५:२२